नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को महाधिवेशन जारी छ। जारी महाधिवेशनमा विद्यार्थीहरू प्यानल नै खडा गरेर चुनावी मैदानमा छन्। निर्वाचन तालिका अनुसार आज बिहानदेखि मतदान सुरु हुनुपर्ने हो। तर, अखिलमा माउ पार्टी एमालेले ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेसँगै निर्वाचन समितिले भने उम्मेदवारको उमेर परीक्षणको काम अघि बढाएको छ।
प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले अहिले उम्मेदवारी दिएका विद्यार्थीहरूको उमेर जाँचको काम भइरहेको छ। 'पार्टीले अखिलमा ३२ वर्षे उमेर हद तोकिदिएको छ र लागू भइसकेको छ,' उनले नेपालखबरसँग भने, 'निर्वाचन समितिले पनि विद्यार्थीको उमेर परीक्षण नगरी निर्वाचनका अन्य कारबाही अघि बढाउन मिलेन। त्यसैले अहिले हामीले उमेर खुल्ने सरकारी कागजात झिकाएर परीक्षण गर्दैछौँ, रुजु गर्दैछौँ।'
पार्टीको मूल नेतृत्वले सहमतिका लागि अध्यक्ष मण्डलमार्फत नाम सार्वजनिक गरे पनि विद्यार्थीहरूले नटेरेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो।
अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। अध्यक्ष मण्डलले कडरियाको नेतृत्वमा पौडेलको नाम उपाध्यक्षमा प्रस्ताव गरेको थियो। तर, पौडेल पक्षले नाराबाजीसहित चुनाव मागेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो। त्यस्तै उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन्। खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुजिता धिताल र भवानी बजगाईँले उम्मेदवारी दिएका छन्।
पार्टी नेतृत्वले उपाध्यक्षमा श्रेष्ठ र सिवाकोटीको नाम अघि सारेको थियो भने महासचिवमा दीपक धामीलाई। अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका धामीलाई पार्टी नेतृत्वले महासचिवमा नै प्रस्ताव गरेको थियो। महासचिवमा आरके रोमस, र सुनिल कँडेलले पनि उम्मेदवारी दिएका छन्।
उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओलीलगायतले उम्मेदवारी दिएका छन्।
उम्मेदवारको उमेर जाँचपछि आजै मतदान प्रक्रिया अघि बढ्ने निरौलाको भनाइ छ।
Shares

प्रतिक्रिया