जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेकाले होसियारी अपनाउन सुझाव दिएको छ।
महाशाखाले आज (बुधबार) बिहान साढे ६ बजेतिर चेतावनी जारी गर्दै भनेको छ: हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकास भई यी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ र यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ।त्यसैले आवश्यक सतर्कता अपनाउनुहोला।
हेर्नुहोस् सूचना-

यसअघि मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
यस्तै राति पनि देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै कुनै प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने एक-दुई स्थानमा पानी पर्न सक्छ भनिन्छ।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
मौसमविद्का अनुसार हाल कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु र देशका बाँकी भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
Shares

प्रतिक्रिया