विगत दुई साता भन्दा लामो समयदेखि अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ।
बैठक बुधबार अपराह्न १ बजे बस्ने गरी समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।
विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ। उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै उनको राजीनामा माग गर्दै आएका छन्।
संसद्मा प्रतिपक्ष : शब्दमा लचक, व्यवहारमा कठोर
पटक(पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि अहिलेसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन। दलहरुबीच सहमती नभएकाले आज पनि बैठक बस्ने नबस्ने निश्चित छैन।
आजको बैठकमा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’पेस गर्ने कार्यसूची पनि छ।
संसद् सचिवालयले जेठ १५ पछिका बैठकमा यही कार्यसूचीमा छलफल गर्ने भनेर सूचना जारी गर्दै आए पनि प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश नै गर्न सकेको छैन। 
Shares

प्रतिक्रिया