यस वर्ष अहिलेसम्मकै छिटो अर्थात् सरदर मितिभन्दा १५ दिनअघि मे २९ तारिख (जेठ १५ गते) नै नेपाल भित्रिएको मनसुन कोसी प्रदेशबाट भने पश्चिमतर्फ अघि बढ्न सकेको छैन।
त्यसो त कोसी प्रदेशकै पनि सबै जिल्लामा मनसुन सक्रिय भइनसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बताउँछन्।
मौसम महाशाखाले मनसुन भित्रिएको आज १३औँ दिन भइसक्दा पनि कोसी प्रदेशका अधिकांश स्थानमा मात्र यसको प्रभाव रहेको उल्लेख गरिरहेको छ।
महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अझै पश्चिमी वायु नै बलियो रहेकाले मनसुन अर्थात् पूर्वी वायु पूर्वबाट पश्चिमतर्फ अगाडि बढ्न नसकेको बताइन्।
उनका अनुसार सामान्यतया मनसुन नेपालको पूर्वी क्षेत्रमा भित्रिएपछि २ दिनमा काठमाडौँसम्म आइपुग्ने र केही दिनमा पश्चिमसम्म फैलिने गरेको छ।
‘तर मनसुन सधैँ सामान्य समयमा फैलिने गर्दैन’, वरिष्ठ मौसमविद् मानन्धरले मंगलबार दिउँसो नेपालखरबसँग भनिन्, ‘हरेक मनसुन फरक-फरक हुन्छ।’
पूर्वबाट मनसुन पश्चिम विस्तारमा विभिन्न कुराले भूमिका खेल्ने उनको भनाइ छ।
‘कुनै-कुनै वर्ष पूर्वमा मनसुन भित्रिएको पर्सिपल्टै पश्चिम पुगेको पनि छ। अनि पूर्वमा मनसुन भित्रिएको १५ दिनपछि मात्रै पश्चिमसम्म पुगेको पनि छ। मनसुन यति नै दिनभित्र फैलिन्छ भन्ने हुँदैन’, उनले भनिन्, ‘किनभने पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरमा बन्ने प्रणालीहरूमा पनि भर पर्छ। यी प्रणालीहरू कति छिटो बनेको छ र पश्चिमी वायु कति प्रबल छ भन्ने कुराका आधारमा मनसुन पूर्वबाट पश्चिम जाने हुन्छ। यति नै दिनमा जान्छ भनेर एकिनका साथ भन्न सकिन्न।’
उनले थपिन्, ‘कोसीमा आइसकेर, इन्डियामा पनि यता पूर्वतिर सबै आइसकेर, बंगालको खाडीमा भित्रिसकेर पनि फेरि पश्चिमी वायु बलियो भएका कारण मनसुन पूर्वबाट केन्द्रतिर आउने नसक्ने अवस्था बनेको छ।’
यसपटक मनसुन १५ दिनअघि नै भित्रिएकाले पनि कोसीबाट मनसुन अघि नबढे पनि खासै ढिला भन्न नमिल्ने तर्क पनि उनले गरिन्।
वरिष्ठ मौसमविद् मानन्धरले यही हप्ताको अन्त्य (शनिबार) सम्म मनसुन कोसी प्रदेशबाट पश्चिमतर्फ अघि बढ्ने सम्भावना देखिएको जानकारी पनि दिइन्।
‘यही हप्ताको अन्तिमसम्ममा मनसुन कोसी प्रदेशबाट अरू प्रदेशमा विस्तार हुने सम्भावना देखिएको छ’, उनले भनिन्।
मौसम महाशाखाका अनुसार हाल कोसी प्रदेशका अधिकांश स्थानमा मात्र मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी भागमा पश्चिमी वायु र स्थानीय वायुकै प्रभाव छ।
मौसमविद्का अनुसार हिउँदमा अर्थात् कात्तिकदेखि जेठसम्म पश्चिमी वायु वहने नेपालमा बर्खामा अर्थात् जेठदेखि असोज अन्त्यसम्म दक्षिण-पूर्वी हावा बहन्छ। जसलाई मनसुनी वायु भनिन्छ। हिउँदमा पश्चिमी वायुले वर्षा गराउँछ भने बर्खायाम अर्थात् मनसुनमा पूर्वी वायुले वर्षा गराउँछ।
तर अझै पश्चिमी वायु नै बलियो भएकाले मनसुनी वायु देशभर फैलिन नसकेको हो।
Shares

प्रतिक्रिया