अहिले चट्याङ पर्ने मौसम हो। देशका विभिन्न ठाउँमा चट्याङले लागेर मानिस तथा घरपालुवा जनावरको ज्यानै गएको तथा घाइते भएका समाचार आइरहेका छन्। त्यसैले यसबाट बच्ने उपाय अपनाउन जरुरी रहेको मौसमविद्ले बताएका छन्।
त्यसो भए यसबाट कसरी जोगिने त?
यसो भन्छन् मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहाल:
आकाशमा बिजुली चम्किएर गड्यागुडुङको आवाज आयो भने चट्याङ परिरहेको छ भनेर बुझ्नुपर्छ। यस्तो बेला बादलबाट अन्त्यन्त शक्तिशाली करेन्ट चट्याङ परेको वस्तुमा तीव्र गतिमा बग्छ र त्यसमा क्षति पुर्याउन सक्छ। चट्याङबाट कसरी जोगिने त?
चट्याङबाट जोगिन पहिला त घर र भौतिक संरचनाहरूलाई राम्ररी अर्थिङ गर्नुपर्छ र तपाईं आफू पनि सावधान हुन जरुरी छ।
टीभी, कम्प्युटरजस्ता बिजुलीबाट चल्ने सामान बन्द गर्नुहोस् र यसको तार पनि प्लकबाट छुटाइदिनुहोस्। भित्ता, सिमेन्टको भुइँ र झ्यालमा नटाँसिनुहोस् र सुक्खा ठाउँमा बस्नुहोस्। झ्याल, भर्याङ र बरन्डामा लगाइएका ग्रिल र धातुका बार नछुनुहोस्।
चट्याङ परेको आधा घण्टासम्म घरबाहिर नजानुहोस्। तर यदि तपाईं घरबाहिर हुनुहुन्छ भने बिजुली चम्किएर गड्याङगुडुङ गर्न थाल्यो भने घरभित्र गइहाल्नुहोस्।
खुला ठाउँ वा जंगलमा हुनुहुन्छ भने होचो ठाउँ, कन्दरा वा ओडारभित्र बस्नुहोस् तर रूख र बिजुलीको पोलमा ओत नलाग्नुहोस्।
खोला, पोखरी, पानी जमेको र तारबार गरिएको ठाउँबाट टाढा बस्नुहोस्। गाडीभित्र हुनुहुन्छ भने धातुलाई नछोई गाडीभित्रै बस्नुहोस्।
छाता नओढ्नुहोस्। सुरक्षित ओत लाग्न नपाउँदै चट्याङ परेमा दुवै हात टाउकोमाथि राखी निहुरिएर दुवै कुर्कुच्चा जोडी थचक्क बस्नुहोस्।
चट्याङ लागेर कोही घाइते भएमा श्वासप्रश्वास र धड्कन जाँच्नुहोस्। यदि यो बन्द छ भने मुख जोडेर कृत्रिम श्वास दिनुहोस् र नजिकैको अस्पताल लैजानुहोस्। यो त भयो चट्याङबाट जोगिने जानकारी।
सुन्नुहोस् भिडिओमा-
Shares

प्रतिक्रिया