ad ad

समाज


कर्णालीमा ७९ जनाको कोरोना परीक्षण, सबैको नेगेटिभ

कर्णालीमा ७९ जनाको कोरोना परीक्षण, सबैको नेगेटिभ

नेपालखबर
चैत २५, २०७६ मंगलबार ३:०,

कर्णाली प्रदेशमा कोभिड १९ आशंकामा स्वास्थ्य परीक्षण गरिएको ७९ जनाकै रिपोर्ट नेगेटिभ (कोरोना संक्रमण नभएको) आएको छ।

कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो।

प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब फोकलपर्सन ओम आचार्यले सुर्खेतमा ४८ र काठमाडौंमा ३१ गरी हालसम्म ७९ जनाको कोभिड १९ को परीक्षण गरिएको जानकारी दिए।

‘स्वाब सङ्कलनका लागि पहाडी र हिमाली जिल्लामा दुई टोली खटाइएको छ, जिल्लाकै ल्याब प्राविधिकलाई यससम्बन्धी तालिम पनि दिने काम भइरहेको छ,’ उनले भने, ‘हाल भारत र तेस्रो मुलुकबाट आएकाको स्वाब सङ्कलनमा प्राथमिकता दिएका छौं।’

यसैबीच वीरेन्द्रनगर नगरपालिकाले दुई करोड रुपैयाँ बराबरको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ।

कार्यपालिकाको बैठकले नगरपालिकाको राष्ट्रिय वाणिज्य बैङ्क सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खाताबाटै कारोबार गर्ने गरी कोष स्थापना गरेको हो।

कोषमा नगरस्तरीय ठूला चार आयोजनाबाट प्रति योजनाबाट ५० लाख रकमान्तर गरिएको छ । कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर प्रदेश राजधानीसमेत भएकाले कोभिड १९ को संक्रमण रोकथामका लागि कोष स्थापना गरिएको बताए।

‘यहाँ जनघनत्व बढी छ, कर्णाली प्रदेशका अन्य जिल्ला जाने प्रवेशद्वार हो, जोखिम पनि उत्तिकै छ,’ उनले भनिन्, ‘रोकथाम र नियन्त्रण योजनामा खर्च गर्नुका साथै संक्रमितको उपचारमा सहयोग गर्न रकम खर्च हुनेछ।’

ढकालका अनुसार नगर क्षेत्रभित्र अत्यावश्यक खाद्यवस्तुको ढुवानी, इन्धन, स्वास्थ्य, एम्बुलेन्स, सुरक्षा, पे्रसबाहेक अन्य स्थानीय तहबाट आउने सवारी साधनलाई रोक लगाइएको छ।

बैठकले सम्बन्धित वडा कार्यालयले व्यवस्थापन गर्ने गरी क्रमशः वडा र टोलहरुले आफ्नो क्षेत्रमा लकडाउन लागू गर्न सक्ने व्यवस्था गरेको छ। कोरोना सङ्क्रमणविरुद्धको व्यवस्थापनमा खटिने कुनै पदाधिकारी वा कर्मचारीको कार्यस्थलमा मृत्यु भएमा आश्रित परिवारलाई १० लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले दैनिक ज्यालादारी, अति विपन्न समुदायलाई खाद्यान्न राहतका लागि ९३ लाख २५ हजार खर्च गरिसकेको जानकारी दिए।

३ हजार ९०५ परिवारका लागि वितरण गरिएको राहत सामग्री वडा कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङका अधिकृत विक्रेता र अन्य पसलबाट खरिद गरेका थिए।

नगरपालिकाले वडा नम्बर १ देखि १२ वडाका विभिन्न टोलमा दमकलद्वारा डिसइन्फेक्ट छर्ने कार्य गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .