नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) लाई प्रहरी निर्घात कुटपिट गरेका छन्।
सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षिय सलामसिंह लामा र प्रहरी जवान काभ्रेकै पनौती ७ का २८ वर्षिय विकाससिंह स्याङतानले शनिबार राति पत्रकार कार्कीलाई कुटपिट गरेका हुन्।
कुटपिटबाट पत्रकार कार्की गम्भीर घाइते भएका छन्।
अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ। बेहोस अवस्थामा रहेका कार्कीलाई सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राति नै काठमाडौं रिफर गरिएको सिन्धुली अस्पतालका डाक्टर सुमित्र गौतमले जानकारी दिएकी छन्।
महासंघ सिन्धुली शाखाका पूर्वअध्यक्ष मीनकुमार दाहालसँगै एक होटलमा खाजा खाइहेका बेला अध्यक्ष र दाहाल दुवैलाई प्रहरीले हातपात गरेका थिए। तर दाहाललाई ठूलो चोट लागेको छैन।
होटलमा बसिरहेका बेला आफूहरुको भिडियो प्रहरी हवल्दार सनमसिंह लामा र प्रहरी जवान विकास स्याङतानले खिच्न थालेपछि त्यसो नगर्न आग्रह गरिएलगत्तै कुटपिटमा उत्रिएको पूर्वअध्यक्ष दाहालले बताए।
नेपाल पत्रकार महासंघले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।
घटनालगत्तै अभियुक्त प्रहरीहरूलाई पक्राउ गरि राति नै पत्रकारहरूका बीच सार्वजनिक गरिएको छ।

प्रतिक्रिया