रसुवा भन्सार कार्यालयको मुख्य गेट पार गरिसकेको करिव साढे ७ किलो सुन प्रहरीले भन्सार जाँचका लागि पुग्नु पहिल्यै बरामद गर्यो। कन्टेनरमा सुन आउँदै गरेको सूचना पहिल्यै पाइसकेको प्रहरीले गेटदेखि नै पिछा गरेको थियो।
रसुवाका प्रहरी प्रमुख समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाही आफैँ चेकजाँचमा पुगेका थिए। दिउँसो साढे १ बजेतिर मुख्य गेटबाट अगाडी बढेको बा ४ ख ६२०१ नम्बरको डब्बा कन्टेनरलाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो।
कन्टेनरको अगाडी चालक बस्ने तर्फको क्याविनको ढोका नजिकै फल्स बटम बनाई कालो टेपले बेरेको अबस्थामा सुन बरामद भएको थियो।
उक्त कन्टेनर चलाएका थिए रसुवाको गोसाइकुण्ड गाउँपालिका ५ स्याफ्रुका २४ वर्षीय किशोर कुमार भुजेलले। भुजेललाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
तर उनले सोधपुछका क्रममा केही पनि खुलाउन नचाहेको डीएसपी शाहीले बताए।
‘सुन कसको हो भन्ने अहिलेसम्म खुल्न सकेन। चालकले केही कुरा पनि बताउन मानेनन्। उनले स्याउ लिएर आएको र काठमाडौँ जान लागेको थिएँ मात्रै भने। अरु विषयमा बोलेनन्’, डीएसपी शाहीले सोमबार साँझ नेपालखबरसँग भने।
बरामद सुन ७ किलो ६५३ ग्राम रहेको पुष्टि भएको छ।
गोसाइकुण्ड गाउँपालिका २ रसुवागढीमा स्याउ बोकेको कन्टेनर चिनबाट आएको थियो। रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरिसकेपछि प्रहरीले पिछा गरेको थियो।
प्रहरीले तर त्यो सुन कहाँबाट आएको र कहाँ जाँदैथियो भन्ने खुलाउन सकेको छैन।
‘हामीले उक्त सुन, गाडी र पक्राउ व्यक्ति भन्सार कार्यालयमा बुझाइसकेका छौँ। यस्ता मान्छेहरुले धेरै कुरा खुलाउँदैनन्। पक्राउ परेका व्यक्तिले पनि केही कुरा पनि खुलाउन मानेनन्’, डीएसपी शाहीले भने, ‘प्रारम्भिक अनुसन्धानमा धेरै कुरा खुलेन। अब बाँकी रसुवा भन्सार कार्यालयले नै अनुसन्धान गर्छ।’
यसअघि अन्य ठाउँमा पनि सुन बरामद हुँदा भरिया मात्रै पक्राउ पर्ने र मालिक को हो भन्ने पत्ता नलाग्ने गरेको छ। प्रहरी र भन्सारले भरियामात्रै पक्राउ गरेर मालिकसम्म पुग्न नसकेको भन्दै आलोचना समेत हुने गरेको छ।
Shares

प्रतिक्रिया