समाज


करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

नेपालखबर
जेठ ४, २०८२ आइतबार २२:९, सर्लाही

काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन्।

यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो। छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो। घारिबथानमा उनको घरबाहेक कसैको पनि क्षति भएको छैन।

मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुगेका थिए। घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन्। घटनापछि आज बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन्।

शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए।

‘यही घडेरी र घरबाहेक उज्ज्वल परिवारको केही छैन, कमाएर परिवारको गुजारा चलाउने मुख्य मान्छेसमेत गुमाएपछि यो परिवारको साहरा र आधार केही बाँकी रहेन’, उनले भने, ‘यो परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत सम्भार तथा छानो हाल्ने काम गरिदिएका छौँ।’

मृतकका आफन्त भैरब परियारले परिवारको मुख्य सहारा गुमेपछि निकै समस्या भएको बताए।

‘आमा दुवै आँखा देख्दिनन्, बुबाको बुताबाट कुनै आम्दानी हुने अवस्था छैन्। श्रीमतीले घर हेरेर बसिदिँदा उज्ज्वलले कमाएको पैसाले परिवार चलिरहेको थियो’, परियारले भने, ‘उज्ज्वलको प्राण गएसँगै यो परिवारको त बिचल्ली हुने अवस्था आएको छ।’

परिवारले दिएको जानकारीअनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहेका थिए। शनिबार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत् लाइन छोड्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उज्ज्वलको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताए। नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गरिने उनले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad