राजनीति


जनार्दनसँग देउवा: प्रचण्डलाई मैले धोका दिएको होइन, ओलीलाई पनि दिन्नँ

जनार्दनसँग देउवा: प्रचण्डलाई मैले धोका दिएको होइन, ओलीलाई पनि दिन्नँ

सागर न्यौपाने
जेठ ४, २०८२ आइतबार २२:१९, काठमाडौँ

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले बजेट ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। यसमै केन्द्रित भएर संसदमा छलफल भइरहेको छ। प्रमुख प्रतिपक्षी दल माओवादी मध्यपहाडी लोकमार्ग अभियानमा छ। 

सरकारविरुद्ध आक्रोश पोखिरहेको माओवादीले जेठ २ गते सत्तारुढ दलका शीर्ष नेतासँग छलफल गर्‍यो।

माओवादी अध्यक्ष प्रचण्डले टेलिफोनमा र उपमहासचिव जनार्दन शर्माले निवासमै पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाको मुड बुझेका छन्।   

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेसकै नेताहरू रुष्ट रहेको बेला देउवासँग माओवादी नेताहरूले राजनीतिक छलफल गरेका हुन्।

आफू देउवाको गृहजिल्ला आएको जानकारी दिन प्रचण्डले उनलाई गत शुक्रबार फोन गरेका थिए। गठबन्धनबाट बाहिरिएपछि औपचारिक कार्यक्रमबाहेक देउवा र प्रचण्डबीच छलफल भएको थिएन।  

तर, प्रचण्डसँग फोन संवाद भएको तीन घण्टापछि देउवा भेट्न माओवादीका उपमहासचिव जनार्दन शर्मा बूढानीलकण्ठ पुगे। उनीहरूबीच एक घण्टाभन्दा लामो समय छलफल भयो। 

एमाले नेतृत्वको सरकारसँग कांग्रेसका थुप्रै नेताले असन्तुष्टि जनाइरहेको बेलामा यो भेटले धेरैको ध्यान खिच्ने नै भयो। तर, भेटमा सभापति देउवाले कांग्रेस–एमाले गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका थिए। 

पछिल्लो राजनीतिक अवस्थाबाट छलफल थालेका देउवा–शर्माले गठबन्धनको भविष्यसम्मका विषयमा कुराकानी गरेका थिए। यस्तै, संक्रमणकालीन न्याय टुंगो लगाउन गठन गरिएको आयोगका विषयमा पनि दुई नेताबीच कुरा भयो। 

सुरूमै जनार्दनले सोधे– ‘ठूला दुई दल मिले पनि सरकारले काम गर्न सकेन, आम मानिस झन् निराश भए।’ 

‘सरकारले गर्दैछ। नयाँ कार्यक्रम ल्याउला। बजेट आउँदैछ। भएन भन्न पो सजिलो छ त, एकैपटक सबै कुरा गर्न गाह्रै हुन्छ,’ देउवाको जवाफ थियो। 

त्यसपछि जनार्दनले गठबन्धनको प्रसंग चासो राखे।

देउवाले स्पष्टसँग आफूले एमालेसँग गरेको सहमति नतोड्ने अडान दोहोर्‍याएको शर्माले आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेका छन्।   

‘धोका दिने कुरा नसोचौँ, मैले धोका दिएको छैन। धोका दिने मेरो बानी पनि होइन,’ देउवाको जवाफ उद्दृत गर्दै शर्माले आफूनिकट नेतासँग भनेका छन्, ‘मैले प्रचण्डलाई पनि धोका दिएको होइन। प्रचण्डले आफैँ छोडेर गएका हुन्। कांग्रेस–माओवादी मिलेर सरकार चलेकै थियो। तर, प्रचण्ड नै छोडेर एमालेसँग मिल्न गए। म केपी ओलीलाई पनि धोका दिन्नँ, उनी आफैँ गए भने मैले के भन्न सक्छु र!’

माओवादीका शर्माले कांग्रेस सभापति देउवालाई भेटेर एमालेलाई इन्गेज गराउने खोजेको कांग्रेसकै केही नेताको बुझाइ छ।

देउवा भने गठबन्धनको विकल्प खोज्न तयार नभएको सांसद ईश्वरी न्यौपाने बताउँछिन्। उनका अनुसार कांग्रेस–एमालेबीच गठबन्धनमा धेरै कुरा मिलेको छैन। तर, यही मेसोमा सरकारकै विकल्प खोज्न नहुनेमा देउवा अडिग छन्।

‘अहिले गज्याङगुजुङ नै छ। बाहिर त्यति राम्रो देखिएको छैन। गठबन्धनको सरकारमा यस्तो हुँदो रहेछ,’ न्यौपानेले भनिन्। 

गभर्नरको विषयले एमाले र प्रधानमन्त्री ओलीसँग कांग्रेस सशंकित छ। 

त्यही मेसोमा माओवादी अध्यक्षसँग फोनमा कुराकानी र उपमहासचिव शर्मा निवासमै पुगेर भेट्नुमा केही न केही पकाउन प्रयास भइरहेको नेताहरू बताउँछन्। 

तर, देउवाका सहयोगी भानु देउवाले जनार्दन शर्मासँग संक्रमणकालीन न्याय सम्बन्धी कुरा भएको बताए।

सरकारले बेपत्ता नागरिक खोजबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा गरेको नियुक्तिलाई नमान्ने भन्दै द्वन्द्वपीडितहरूले विरोध गरेपछि मिलाउन देउवाले कुरा गरेको भानुको भनाइ छ।

‘उहाँसँग भेट्ने बारेमा पहिलेदेखि कुरा भइरहेको थियो। अस्ति टीआरसीको बारेमा कुरा भएको हो,’ भानुले भने, ‘टीआरसी मान्दैनौँ भन्ने तपाईंहरूसँग बीचमा एउटा समझदारी गरेर आयोग गठन भयो, तर, द्वन्द्वपीडितले फेरि विरोध गर्न थाले, यताबाट हाम्रा मान्छेलाई हामी सम्झाउँछौँ, उताबाट तपाईंहरूकालाई तपाईं सम्झाउनुस् भनेर सभापतिज्यूले भन्नुभयो।’

कांग्रेस नेताहरू सरकारको कार्यशैलीप्रति असन्तुष्टि भए पनि गठबन्धन तलमाथि नहुने बताउँछन्।

‘सरकारका विषयलाई लिएर, प्रधानमन्त्रीको कार्यशैली लगायतका कारण हाम्रो पार्टीभित्र असन्तुष्टि व्यापकै छ। तर, विकल्प खोजिएको छैन,’ कांग्रेसका अर्का नेता भन्छन्, ‘न हाम्रा सभापति सरकारको प्रतिवाद गर्न सक्नुहुन्छ, न त रक्षा गर्नसक्ने अवस्थामा हुनुहुन्छ।’

गठबन्धनका विषयमा देउवा अडिग भए पनि कांग्रेस नेताहरूले असन्तुष्टि पोख्ने क्रम रोकिएको छैन। शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad