भित्र पस्नेबित्तिकै त्यहाँको तनाव महसुस गर्न सकिन्छ। कोही पनि अनावश्यक बोलिरहेको छैन। हरेक बेडमा लागेका मोनिटर र उपकरणको एकोहोरो पिप, पिप, पिप आवाज मात्र सुनिन्छ।
उत्तरपूर्वी स्पेनको यो जर्मान्स ट्रियस इ पुजोल अस्पतालको पुस्तकालयभित्र यसअघि एकै पटक यति धेरै मानिस कहिल्यै पसेका थिएनन्।
अहिले स्वास्थ्यकर्मीहरु यो पुस्तकालयभित्र अध्ययन गरिरहेका छैनन्। बरु उनीहरु कोरोना भाइरसका कारण निमोनिया भएका गम्भीर बिरामीको उपचार गरिरहेका छन्।
बार्सिलोना नजिकैको बादालोना भनिने ठाउँमा रहेको यो हेर्दा पुस्तकालयजस्तो पनि देखिँदैन। किनभने यहाँबाट पुस्तकको तख्ता हटाएर २० वटा बेड राखिएको छ। अस्पतालका सबै ठाउँ भरिभराउ भएपछि यहाँ आईसीयू सञ्चालन गरिएको हो।

शरीर पूरै ढाक्ने प्रोटेक्टिभ इक्विपमेन्टको अभावमा स्पेनका डाक्टर र नर्स जे पाइन्छ, त्यसैलाई सुरक्षा कवचमा रुपान्तरण गरिरहेका छन्। उनीहरु एउटै मास्क बारम्बार प्रयोग गरिरहेका छन्। शरीरमा ह्वांग्ल्याङ्गे गाउनमाथि प्लास्टिकको एप्रोन लगाइरहेका छन्। तिनको हातमा एकमाथि अर्को खप्टिएका पञ्जा गन्न सकिन्न।
उनीहरु भित्र पस्नुअघि गगल्समा अलिकति डिटरजेन्ट हालेर सफा गर्छन्। तर, हपक्क गुम्सिएको यो कोठामा पस्नेबित्तिकै आफ्नै सासले गगल्स धमिलो हुन थाल्छ।
यो कोठामा उनीहरु घण्टौँ दौडिरहन्छन्, एक बिरामीबाट अर्को बिरामीसम्म। अनेकौँ खाप कपडाभित्र पसिना काढ्दै।
सबै स्वास्थ्यकर्मी व्यस्त छन्। कोही मोनिटरमा भाइटल साइन नियालिरहेका, कोही औषधि चढाइरहेका, अरुहरु बिरामीको घाँटीमा छिराइएका ट्युब तथा अन्य उपकरण मिलाइरहेका।
सबैजसो बिरामीमा भेन्टिलेटर वा ट्युब जोडिएका थिए। आधाजतिलाई घोप्टो पारेर सुताइएको थियो, ताकि बिरामीलाई सास फेर्न सजिलो होस्।
बिहीबार मात्र स्पेनमा २४ घण्टामै ९ सय ५० मानिसको मृत्यु भएको थियो। स्पेनमा ज्यान गुमाउनेहरुको संख्या १० हजार नाघिसकेको छ।

यो वैकल्पिक आईसीयूमा रहेका बिरामी कोरोनासँग हार या जित निश्चित नहुन्जेल हप्तौँसम्म यहीँ रहिरहने सम्भावना छ। उनीहरु आफ्नो जीवनका लागि लडिरहेका छन्। तर, यो लडाइँमा तिनको छेऊमा तिनका प्रियजन छैनन्।
काँचको बारपछाडि रहेका नर्स बिरामीहरुको चालढाल नियालिरहेका हुन्छन्। तिनका हरेक गतिविधि र शारीरिक उतारचढाव कम्प्युटरमा टाइप गरिरहेका हुन्छन्। भित्र बसेकाहरुले वाकी टकीमार्फत तिनलाई सूचना दिइरहेका छन्। एक जना बिरामीलाई फेरि ज्वरो आउँछ, ‘३७.८ डिग्री।’ तत्काल आईभी ब्यागमा इन्जेक्सन चढाइन्छ।
समय बिस्तारै पार हुन्छ। नर्सहरु त वाफले धमिलिएको गगल्सका कारण घडी हेर्न पनि सक्दैनन्।

उनीहरुको पालो सकिएपछि आईसीयूबाट निस्किने कठिन काम सुरु हुन्छ। नर्सहरु तोकिएको ढोकाबाट बाहिर निस्किन्छन्।
त्यसपछि उनीहरु संक्रमित कपडा र कवच एकएक गर्दै निकाल्न थाल्छन्। गगल्स जति एउटा बाल्टीमा पुग्छ, गाउन अर्कोमा। एकाध पत्र पञ्जा र एप्रोन फोहोरको भाँडोमा फालिन्छ।
आईसीयू कक्षबाट निस्किँदा उनीहरुको ज्यानै हलुका हुन्छ। तर, एउटा प्रश्नको भारीले भने उनीहरुलाई थिचिरहन्छः के भाइरस उनीहरुलाई पछ्याउँदै घरसम्म पुग्ला?


प्रतिक्रिया