सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान रवि लामिछानेको निवेदन नहेर्ने भएका छन्। उनले हेर्न नमिल्ने भनेपछि बुधबार पनि रविको निवेदनमा सुनुवाइ नहुने भएको छ।
यसअघि रवि संलग्न मुद्दाकै अर्का प्रतिवादी छविलाल जोशी बन्जाडेको निवेदन खारेज गरेका कारण रविको निवेदन हेर्न नमिलेको न्यायाधीश मुसलमानले इजलासमा बताएका छन्।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं लामिछानेलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी पत्नी निकिता पौडेलले बन्दी प्रत्यक्षीकरण निवेदन दायर गरेकी हुन्। यस्तै रविलाई थुनामा पठाउने उच्च अदालत, बुटवलको आदेश बदर गर्न माग गर्दै रविका तर्फबाट अर्को निवेदन पनि सर्वोच्चमा परेको छ।
जिल्ला अदालतकै आदेशले थुनामा रहेका अर्का प्रतिवादी छविलाल बन्जाडे पनि थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राखी सर्वोच्च पुगेका छन्। उनको निवेदन पनि रविको निवेदनसँगै राखिएको छ।
ती निवेदन बुधबार न्यायाधीश नहकुल सुवेदी र मुसलमानको इजलासमा परेका थिए।
यसअघि पनि पटकपटक हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा यी निवेदनमा सुनुवाइ हुन सकेको थिएन।
यही वैशाख ९ मा न्यायाधीश मुसलमानको इजलासले रविकाे निवेदनमा कारण देखाउ आदेश जारी गरेको थियो।
सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने अहिले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। उनलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरोटीमा रिहा गर्न आदेश दिए पनि उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो।
आदेशलगतै लामिछानेलाई काठमाडौँस्थित उनको निवासबाटै पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको थियो। त्यसको भोलिपल्ट रुपन्देही लगेर कारागार चलान गरिएको थियो।
Shares

प्रतिक्रिया