न्याय परिषद्को बैठक आज बस्दै छ।
साँझ ५ बजेपछि बस्ने बैठकको एजेन्डामा न्यायाधीश नियुक्तिको विषय पनि राखिएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतको काम सकेर बैठकमा उपस्थित हुनेछन्। अहिले उनीहरू दुवै जना संवैधानिक इजलासमा छन्।
‘बैठक त धेरैपटक बसिसक्यौँ,’ न्याय परिषद्का एक अधिकारीले भने, ‘आज पनि बस्छौँ। तर, निर्णय के हुन्छ भन्न सकिन्न।’
ती अधिकारीका अनुसार, प्रधानन्यायाधीश राउतले नै बैठकको एजेन्डामा न्यायाधीश नियुक्तिको विषय राख्न भने पनि अहिलेसम्म छलफल हुन सकेको छैन।
सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद लामो समयदेखि रिक्त छ। उच्च र जिल्ला अदालतमा गरी ३३ न्यायाधीशको दरबन्दी खाली छ।
न्यायाधीश अभाव हुँदा सर्वोच्च अदालतमा काम– कारबाही नै प्रभावित भएका छन्।
Shares

प्रतिक्रिया