नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका प्रदेश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा देखिएका छन्।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै अतिथिका रुपमा सहभागी भएका हुन्। उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी एमाले सांसद् हुन्।
काठमाडौँको गौतमबुद्ध हाइड्रोपावर कम्पनीका सञ्चाकसमेत रहेका पन्थी र देवराज खनालविरुद्ध उजुरी परेको थियो। उक्त उजुरीमा अनुसन्धान गर्नका लागि प्रहरीले पन्थीलाई पनि पक्राउ गर्न अन्य कार्यालयबाट सहयोग मागेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि पन्थीलाई पक्राउ गरिदिनका लागि प्रहरी प्रधान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूमा पनि पत्र पठाएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको पत्रमा पनि यी कार्यालयलाई वोधार्थ दिइएको छ। सांसद पन्थी र देवराज खनाललाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले विद्युतीय सामग्री लगेर रकम नतिरेको आरोप छ।
तर आरोपित सांसद शक्तिको आडमा खुलेआम हिँड्दा प्रहरी निरीह देखिएकाे छ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेन्द्र प्रसाद भट्टले आफू केहीदिन अघि मात्रै आएकाले धेरै कुरा जानकारी नभएको बताए।
‘सोमबार यसबारेमा जानकारी पाइसकेपछि जिल्लाका एसपीलाई (जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख) कानुन बमोजिम गर्न निर्देशन दिइसकेको छु,’ डीआईजी भट्टले नेपालखबरसँग भने।
Shares

प्रतिक्रिया