पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतम बुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी भएको बताएका छन्। बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए।
काभ्रे सेवा समाजद्वारा आयोजित बुद्धजयन्तीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म आयोजित बृहत शान्ति पदयात्राको आज उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा यादवले परिवर्तित समयमा पनि गौतम बुद्धका सन्देश देश विदेशका हरेक नागरिकका लागि उपयोगी भएको बताए।
‘गौतम बुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ,’ उनले भने।
शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न तथा स्थानीय कला, संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए।
गौतम बुद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखिे सुन्थान–ईंटे–शङ्खु– शङ्खेश्वरी–जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो। समाजले यसअघि २०८० असोजमा पनि सोही ‘रुट’मा पदयात्रा आयोजना गरेको थियो। पदयात्रामा पाँच सयभन्दा बढी सहभागी रहेका आयोजकले जनाएको छ।रासस
Shares

प्रतिक्रिया