पोखराको फेवा तालमा बोट पल्टिएर फसेका ७ जनाको सकुशल उद्धार भएको छ।
बिहीबार हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिँदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको हो।
बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिएको थियो।
बोटमा रहेका भारत घर बताउने २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीय पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए।

खबर पाएलगतै उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको टोली र नेपाली सेनाको टोलीले उनीहरुलाई तत्काल उद्धार गरेको हो।
उद्वार पश्चात नन्दबहादुर गुरुङ्गको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको छ।
अन्य ६ जना भने अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
Shares

प्रतिक्रिया