मौसम महाशाखाका अनुसार आज मंगलबार राति पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसा राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी देशको हिमाली भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा/ हिमपातको सम्भावना छ।
मौसम महाशाखाले बुधबार दिउँसोको मौसमबारे पनि जानकारी दिएको छ।
जसअनुसार बुधबार दिउँसो कोसी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया