समाज


‘पतिलाई कोरोनाको हल्लाले लग्यो, अब मैले साना २ छोरा र ७० वर्षकी सासू कसरी पाल्नु?’

‘पतिलाई कोरोनाको हल्लाले लग्यो, अब मैले साना २ छोरा र ७० वर्षकी सासू कसरी पाल्नु?’

नेपालखबर
चैत २०, २०७६ बिहिबार ५:४३,

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार (?) का क्रममा पतिको मृत्यु भएपछि रूपन्देहीको सैनामैना नगरपालिका-४ निवासी रीता थापालाई श्रीमान् गुमाएको पीडा त छँदै छ, त्योभन्दा ठूलो चिन्ता छ- अब जीवन कसरी चलाउने?

आफ्नो एउटा जीवन मात्रै भए त हुन्थ्यो। साथमा छन्, ६ र ७ वर्षका दुइटा छोरा, अनि ७० वर्षकी सासू। ‘केही सम्पत्ति छैन,’ बिहीबार बिहान नेपालखबरसँगको टेलिफोन सम्पर्कमा रीताले रुन्चे स्वरमा भनिन्, ‘अब कसरी बाँच्ने होला?’

उनको परिवारको स्थायी घर पाल्पाको रिब्दिकोट नगरपालिका वडा नम्बर ४ हो। जहाँ एउटा थोत्रो घरबाहेक अरू केही छैन। स्वदेशमा कुनै विकल्प नभएपछि उनका पति बाबुराम थापा वैदेशिक रोजगारीमा गए।

‘उहाँ विदेश जान थाल्नुभएको ५ वर्ष भएको थियो,’ रीताले सुनाइन्, ‘त्यहीबाट हाम्रो गुजारा चलिरहेको थियो। तर अचानक उहाँलाई कालले लग्यो, अब जिन्दगी कसरी चलाउने ठूलो चिन्ता भएको छ।’

उनका दुवै छोरा स्थानीय प्रभात बोर्डिङ स्कुलमा पढ्छन्। ‘एक वर्ष भयो फि पनि तिरिएको छैन,’ उनले भनिन्, ‘अब कसरी तिर्ने?’

केही प्रगति गर्न सकिन्छ कि भनेर थापाको परिवार पोहोर साल मात्र आफ्नो स्थायी घर छाडेर अहिले बसिरहेको रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मा आएको थियो। जहाँ उनीहरू डेरा लिएर बसेका छन्।

‘दैनिक ज्यालादारी गर्थें म, अहिले सरकारले घरबाट निस्किन (क्वारेन्टिन) दिएको छैन,’ रीताले बडो भावुक स्वरमा भनिन्, ‘अब डेराभाडा पनि कसरी तिर्ने होला?’

त्यति मात्र होइन, उनका पतिले उता आफ्नो गाउँमा बस्ने गरेका आफ्ना जेठा दाइका लालाबालालाई पनि बेला बेला सहयोग गर्ने गरेका थिए। कारण उनको जेठा दाइ पनि बितिसकेका थिए। उनको परिवार पनि बेसाहारा छन्।

यसैकारण बाबुरामका बाबुआमा पनि उनीसँगै बस्ने गरेका थिए। ‘ससुरा पनि पोहोर साल बित्नुभयो, साथमा ७० वर्षकी सासू हुनुहुन्छ,’ उनले भनिन्, ‘भन्नुस् त अब मैले के गर्ने?

दुबईमा ट्याक्सी चालक काम गरिरहेका उनका पति ३४ वर्षीय बाबुराम थापा यही कोरोनाको हल्लाले यही चैत ६ गते नेपाल आएका थिए। ज्वरोको समस्या आएपछि उनले स्थानीय मेडिकलबाट औषधि खाइरहेका थिए।

‘ठीक हुँदै थियो, तर यहाँ कोरोनाको हल्ला चल्यो,’ रीताले सुनाइन्, ‘अनि यहाँको हेल्थपोस्टले धागो कारखानामा राखिएको कोरोना अस्पतालमा जान सल्लाह दियो।’

रीताका अनुसार उनका श्रीमान बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा हिँडेरै गएका थिए।

‘त्यस्तो मान्छे अचानक मृत्यु भयो भन्ने खबर आउँदा म छांगाबाट खसेझैं भएँ,’ रीताले दुःखी स्वरमा टेलिफोनमा भनिन्, ‘मेरा श्रीमानको मृत्यु अस्पतालको लापर्बाहीले भएको हो। बरु त्यहाँ उपचार हुँदैन भन्दिएको भए हामी अर्कै अस्पतालमा लगेर बँचाउँथ्यो।’

रीताका अनुसार अब आफ्नो परिवारको जिम्मा सरकारले लिनुपर्छ।

‘मेरा साना दुई छोराको पढाइको जिम्मा पनि सरकारले लिनुपर्छ,’ उनले भनिन्, ‘जबसम्म यसमा सहमति हुँदैन, तबसम्म म श्रीमानको लास जिम्मा लिन्नँ।’ 

याे पनि : 

बुटवलमा बितेका युवककी पत्नीको प्रश्नः कोरोनाले होइन भने मृत्युकाे कारण के हाे त?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad