समाज


जिप्रका काठमाडौंले रोक्यो सवारीसाधन पास वितरण, यस्तो छ नयाँ व्यवस्था

जिप्रका काठमाडौंले रोक्यो सवारीसाधन पास वितरण, यस्तो छ नयाँ व्यवस्था

नेपालखबर
चैत २०, २०७६ बिहिबार ६:१२,

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारबाट सवारीसाधनलाई पास वितरण नगर्ने भएको छ। सवारी पासको लागि कार्यालयमा अत्यधिक भीड भएको भन्दै बन्द गरिएको हो।

कोभिड १९को संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यको लागि जिल्ला प्रशासन कार्यालयले पास वितरण गर्दै आएको थियो।

भीडभाडबाट कोरोना संक्रमणको जोखिम बढ्नुका साथै पासको दुरुपयोग समेत गरिएको कार्यालयको दाबी छ। अत्यावश्यक सेवा तथा सामग्रीहरुको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरेको छ।

जसमा एम्बुलेन्सहरु, औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स तथा कर्मचारीहरुलाई बोकेका सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ। तर सबैले आफ्नो परिचय पत्र बोक्नुपर्नेछ।

खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुहरुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीहरुले पनि निर्बाधरुपमा चल्न पाउने भएका छन्।

तर यस्ता सवारीहरुमा यात्रु ओसार्न भने पाइनेछैन।

व्यक्तिगत समस्या, परिवार, वा आमा बिरामी ,भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने कार्यालयले जनाएको छ।

तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, गम्भीर बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा इकाइसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले अत्यावश्यक सवारी र हिजो नै पास लिएका सवारीलाई मात्रै सडकमा गुड्न दिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad