समाज


आवासीय चिकित्सक–सरकार सहमति ‘निर्लज्ज’, आन्दोलन जारी: संघर्ष समिति

आवासीय चिकित्सक–सरकार सहमति ‘निर्लज्ज’, आन्दोलन जारी: संघर्ष समिति

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १२:३३, काठमाडौँ

आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच भएको भनिएको सहमति अस्वीकार गर्दै ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ले आन्दोलन जारी राखेको छ। 

शनिबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति भएको थियो। यससँगै आवासीय चिकित्सकहरूको आन्दोलन फिर्ता गरिएको भनिएको थियो। 

तर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले विज्ञप्ति जारी गरी ‘पटकपटक निर्देशन दिनेबाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको’ भन्दै आन्दोलन जारी नै राख्न बाध्य भएको बताएका हुन्। 

विज्ञप्तिमा लेखिएको छ, ‘विभिन्न सञ्चारमाध्यमहरूमा आएका ‘आन्दोलनरत चिकित्सकहरू र सरकारबीच सहमति’ शीर्षकका समाचारहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ। सरकारसँग हाम्रो कुनै पनि सहमति नभएको जानकारी गराउन चाहन्छौँ। चिकित्सा शिक्षा आयोगको मिति २०८१/१०/२५ गतेको सोह्रौँ पूर्ण बैठकले निर्णय गरेबमोजिमको पारिश्रमिक करिब ३ महिनादेखि नपाएको र पटकपटक निर्देशन दिनेबाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको अवस्थामा हामी हाम्रा आन्दोलनका कार्यक्रमहरू सुचारु राख्न बाध्य छौँ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तीन महिनादेखि पारिश्रमिक नपाएका आवासीय चिकित्सकहरूलाई पारिश्रमिक दिलाउनुको सट्टा 'निर्देशन दिने' सहमतिजस्ता निर्लज्ज क्रियाकलापहरूप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ।’

यस क्रममा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले दुई बुँदामा आफ्ना माग पनि प्रस्तुत गरेको छ। जुन पूरा नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ। 

यस्ता छन् उसका मागः
१) सम्पूर्ण निजी मेडिकल कलेजका एमडी, एमएस, एमडीएस आवासीय चिकित्सकहरूको मासिक पारिश्रमिक (सरकारी आठौँ तह सरह) भुक्तानी गरियोस्। त्यस्तो निर्णय नमान्ने निजी मेडिकल कलेजहरूलाई एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच कार्यक्रमको सम्बन्धन खारेज, बिमालगायत सरकारी अनुदानका सम्पूर्ण कार्यक्रम रद्द गर्नेलगायतका कारबाही गर्ने निर्णय गरियोस्। साथै नेपाली स्वाथ्य शिक्षा तथा सेवामा दूरगामी नकारात्मक असर पर्ने खालका कुनै पनि निर्णय हामीलाई कदापि स्वीकार्य छैनन्।

२) स्नातकोत्तर कार्यक्रमहरूलाई पूर्ण वैज्ञानिक बनाउन हामीसँग प्रतिबद्धता जनाइएबमोजिम छुट्टै नियामक अंगको व्यवस्थासहित कार्य समय, बिदा, पारिश्रमिक, परीक्षाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने व्यवस्था, विश्वविद्यालय र मेडिकल कलेज प्रशासनको आचरण र व्यवहार, अध्यापक जनशक्तिहरूको आचरण र व्यवहारलगायत विषय समेटी पीजी (स्नातकोत्तर कार्यक्रम सञ्चालन कार्यविधि) निर्माण गर्ने ड्राफ्टिङ कमिटी बनाइयोस्। 

संघर्ष समितिले घोषणा गरेको विरोध कार्यक्रम यस्ता छन्:

आगामी कार्यक्रम २०८२/०१/२१ गते आइतबार
१. सम्पूर्ण आवासीय चिकित्सकहरूले मागहरू सम्बोधन नहुन्जेलसम्म आफूले प्रदान गर्दै आएका सेवाहरू बहिष्कार गर्ने।

२. उपत्यकाभित्र थपः
कार्यक्रम: माइतीघर मण्डलामा सेतो एप्रोनसहित धर्ना/र्‍याली कार्यक्रम
समयः बिहान ११ बजे ।

३. उपत्यकाबाहिर थपः
बिहान ९/१० बजे देशभरका स्वास्थ्य संस्थामा ब्यानर र प्लेकार्डसहित समर्थन प्रदर्शन गर्ने

समितिले श्रम शोषणविरुद्धको संघर्षमा साथ र सहयोग दिन इन्टर्न, मेडिकल अधिकृत, आवासीयलगायत सम्पूर्ण चिकित्सक, देशभरका मेडिकल समाज, बुद्धिजीवी र आम नागरिकलाई अनुरोध पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad