समाज


नेपाल प्रहरीमा सुरु भयो स्टाफ कोर्स, १७ डीएसपी सहभागी

नेपाल प्रहरीमा सुरु भयो स्टाफ कोर्स, १७ डीएसपी सहभागी

नेपालखबर
बैशाख २१, २०८२ आइतबार ११:५२, काठमाडौँ

नेपाल प्रहरीमा पहिलोपटक लिडरसिप एन्ड स्टाफ कोर्स सुरु भएको छ। भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री रमेश लेखकले आइतबार बिहान पहिलो ब्याच सहभागी हुने कार्यक्रमको उद्घाटन गरेका हुन्। 

स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना डीएसपी मात्रै उत्तीर्ण भएका छन्। २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको सुरुवात गरिएको हो। 

प्रहरीमा पहिलोपटक सुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउने छ। 

अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ। कुनै सेमेस्टरमा अनुत्तीर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ।

प्रस्तावित विधेयक संसद्‌बाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्न पाउने छैनन्। एसपी र एसएसपीमा पनि स्टाफ कलेज गरेका र नगरेकाकाका लागि छुट्टै कोटा तोकिएका छन्। 

स्टाफ कलेज गरेका ६० प्रतिशत र नगरेका ४० प्रतिशत डीएसपी एसपीमा बढुवा हुनेछन्। एसपीबाट एसएसपीमा बढुवा हुँदा स्टाफ कलेज नगर्नेका लागि २० प्रतिशत मात्रै कोटा हुनेछ।

तर एसएसपीबाट डीआईजी बन्ने ढोका स्टाफ कलेज नगर्नेहरूका लागि बन्द हुनेछ।

स्टाफ कलेजको प्रवेश परीक्षा तीन पटकसम्म दिन पाइनेछ। 

तीन पटकमा पनि पास हुन नसक्नेहरू स्टाफ कलेज पढ्न अयोग्य मानिनेछन्। 

आफ्नो ब्याचबाट स्टाफ कलेजको सुरुवात गर्न लागेपछि २० जना डीएसपीले कोर्स बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। 

तर सर्वोच्च अदालतले स्टाफ कलेज अध्ययन गराउने प्रहरीको तयारीमा रोक नलगाएपछि परीक्षा अगाडि बढेको हो।

अहिले सर्वोच्चमा रिट दायर गर्ने केही अधिकारी पनि यसमा उत्तीर्ण भएका छन्। 

तर बढुवामा कोटा तोक्ने व्यवस्था ऐनमा व्यवस्था भएपछि मात्रै कार्यान्वयन गर्न सर्वोच्चले आदेश दिएको छ।

यही बीचमा नयाँ प्रहरी ऐन संसद्‌बाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेजका लागि प्रहरीले ल्याएको नयाँ व्यवस्था स्वतः कार्यान्वयनमा जानेछ। 

सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संसद्‌को यही अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad