गन्ध वा स्वाद थाहा नपाउने अवस्था पनि कोरोना भाइरस संक्रमणको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्।
लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड १९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गर्दा यस्तो फेला परेको हो।
तर, कोरोना संक्रमणमा विज्ञहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको उल्लेख गरेका बीबीसीले जनाएको छ।
द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणबारे विज्ञहरूलाई बुझ्न थप मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो अध्ययन केन्द्रित गरेका थिए।
कोभिड सिम्पटप ट्रायकर एपका अनुसार सम्भावित लक्षण रहेको भनिएका व्यक्तिमध्ये ५३ प्रतिशतले आफूले थकित वा गलेको महसुस गरेको बताएका थिए भने २९ प्रतिशतले निरन्तर खोकी लागेको, २८ प्रतिशतले सास फेर्न गाह्रो भएको, १८ प्रतिशतले गन्ध र स्वाद थाहा नपाएको, १०.५ प्रतिशतले ज्वरो आएको बताएका थिए।
अध्ययनमा सहभागी चार लाख मानिसमध्ये १७ सय २ जनाले कोभिड १९ को परीक्षण गराएका थिए। त्यसमध्ये ५७९ जनामा कोभिड १९ देखिएको थियो।
कोरोनाभाइरसको सङ्क्रमण देखिएकामध्ये प्रत्येक पाँच जनामध्ये तीन जनाले स्वाद वा गन्ध थाहा नपाएको धारणा राखेका थिए।
द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले स्वाद वा गन्ध थाहा नपाउनुलाई थप लक्षणका रूपमा ध्यान दिनु उपयुक्त हुने सुझाब दिएका छन्।
गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी समस्य अन्य संक्रमणमा पनि हुन्छ। त्यसलाई मात्रै नभई त्यो भन्दा महत्त्वपूर्ण ज्वरो र खोकीलाई मुख्य प्राथमिकता दिन विज्ञले सुझाब दिएका छन्।
Shares

प्रतिक्रिया