छापा खबर


रातारात घुसाइयो एजेन्ट, अस्ट्रेलिया चार्टर्डमा निगम नेतृत्वले यसरी खायो साढे ४५ लाख कमिसन

रातारात घुसाइयो एजेन्ट, अस्ट्रेलिया चार्टर्डमा निगम नेतृत्वले यसरी खायो साढे ४५ लाख कमिसन

नेपालखबर
चैत २०, २०७६ बिहिबार १:३७,

नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान अस्ट्रेलियन दूतावासले गरेको चार्टर्डमा साढे ४५ लाख कमिसनको चलखेल भएको छ।

अस्ट्रेलियन दूतावासले जहाज सीधै चार्टर्ड गरेकोमा निगम नेतृत्वले बीचमा बोन ट्राभल्सलाई घुसाएर मिलेमतोमा कमिसन खाएको खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।

मंगलबार निगमका अपरेसन विभाग निर्देशक दिपुराज ज्वारचनले काठमाडौं–क्वालालम्पुर–ब्रिसवेन जाउआउ २६ घन्टा उडानका लागि प्रतिघन्टा १८ हजार एक सय अमेरिकी डलरका दरले जहाज बुक भएको सञ्चारमाध्यमलाई जानकारी दिएका थिए।

यो हिसाबमा निगमले सीधै चार लाख ७० हजार ६ सय डलर पाउने पक्का थियो । बुधबारको डलरको भाउअनुसार पाँच करोड ७१ लाख १२ हजार १६ रुपैयाँ निगमलाई हात लाग्थ्यो।

तर, बुधबार घटना पूरै मोडियो । निगमले बोन ट्राभल्समार्फत १४ जना बिजनेस क्लासका टिकट बिक्री गर्‍यो । यसको प्रतिव्यक्ति २३ सय डलरका दरले ३२ हजार दुई सय डलर हुन्छ।

त्यस्तै, ट्राभल्सले अन्य दुई सय ३६ यात्रुलाई प्रतिव्यक्ति एक हजार सात सय ९५ डलरका दरले इकोनोमी क्लासको टिकट बिक्री ग¥यो । यसको चार लाख २३ हजार ६ सय २० डलर हुन्छ । सबै दुई सय ५० यात्रुको चार लाख ५५ हजार आठ सय २० डलर अर्थात् बुधबारको डलर भाउअनुसार पाँच करोड ५३ लाख १८ हजार तीन सय १५ रुपैयाँ हुन्छ।

दूतावासले सीधै चार्टर्ड गर्दाभन्दा ट्राभल्समार्फत जाँदा निगमलाई १७ लाख ९३ हजार रुपैयाँ कम भाडा उठ्ने भएको छ। त्यस्तै, ट्राभल्सले वैधानिक रूपमै ५ प्रतिशत कमिसनबापत २७ लाख ६५ हजार नौ सय १५ रुपैयाँ लैजान्छ । यसरी निगमलाई सीधै साढे ४५ लाख रुपैयाँ घाटा लागेको छ।

निगमका वाणिज्य विभाग प्रमुख टंकनिधि दाहाल भने अस्ट्रेलियन दूतावासकै आग्रहमा बोन ट्राभल्सलाई चार्टर्ड गर्न लगाइएको दाबी गर्छन् । ‘दूतावासले आधिकारिक ट्राभन्स बोन भएकाले सोहीमार्फत चार्टर्ड गर्न भनेपछि सोहीअनुसार गरियो,’ दाहालले भने।

तर, नागरिक उड्डयन प्राधिकरणको पत्रमा अस्ट्रेलियन दूतावास नै चार्टर्ड पार्टी भएको उल्लेख छ।

निगमको एयरबस ३३०–२४३ सिरिजको जहाज उडानका लागि प्राधिकरणले दिएको अनुमतिपत्रमा निवेदक नेपाल वायुसेवा निगम तथा चार्टर्ड पार्टी अस्ट्रेलियन दूतावास भनेर स्पष्ट खुलाइएको छ।

यसले पनि बोन ट्राभल्सलाई चलखेल र कमिसनका लागि मात्रै बीचमा घुसाइएको बुझ्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad