समाज


काठमाडौँ महानगरले संस्थागत विद्यालयलाई भन्यो- विद्यार्थीलाई नियमअनुसार छात्रवृत्ति देऊ

काठमाडौँ महानगरले संस्थागत विद्यालयलाई भन्यो- विद्यार्थीलाई नियमअनुसार छात्रवृत्ति देऊ

फाइल तस्बिर


नेपालखबर
बैशाख १७, २०८२ बुधबार ८:४७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नियमानुसार छात्रवृति वितरण गर्न अनुरोध गरेको छ। 

चालु शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १० सम्मको  छात्रवृत्ति अनिवार्य रुपमा नियमानुसार वितरण गर्न र त्यसको विवरण महानगरपालिकामा पेस गर्न महानगरभित्रका भित्रका संस्थागत विद्यालयहरुलाई महानगरपालिकाले अनुरोध गरेको हो। 

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० अनुसार १० प्रतिशत निःशुल्क छात्रवृत्ति वितरण गर्न अनुरोध गरिएको काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत नव नारायण पौडेलले जानकारी दिए। 

शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका ४६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीले र शैक्षिक सत्र २०८१ मा १९ हजार भन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए।

महानगरले यस वर्ष पनि जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपांगता भएका, महिला, दलित, जनजाती, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति वितरण गर्न अनुरोध गरेको हो। 

यदि नियमअनुसार छात्रवृत्ति वितरण नगरे र त्यसको विवरण महानगरमा पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनीसमेत महानगरले दिएको छ। 

विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी संस्थागत विद्यालयहरुले छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम छ। 

नियमानुसार छात्रवृत्ति वितरणका लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा उनीहरूका अभिभावकबाट आवेदन सङ्कलन गरी २०८२ साल जेठको पहिलो हप्ता भित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनु पर्ने सूचनामा उल्लेख छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad