समाज


राक्सिराङमा चट्याङ पूर्वसूचना प्रणाली जडान, १६ मिनेट अघि नै साइरन बज्ने

राक्सिराङमा चट्याङ पूर्वसूचना प्रणाली जडान, १६ मिनेट अघि नै साइरन बज्ने

नेपालखबर
बैशाख १७, २०८२ बुधबार ९:२२, हेटाैँडा

मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङजन्य प्रकोपबाट जनधनको क्षति न्यूनीकरणका लागि पूर्वसूचना दिने अत्याधुनिक प्रणाली जडान गरिएको छ। 

साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा स्थापना गरिएको यो प्रणाली दक्षिण एसियामै पहिलोपटक स्थायीरूपमा प्रयोगमा ल्याइएको अनुसन्धानकर्ता तथा नेटवर्कका अध्यक्ष श्रीराम शर्माले जानकारी दिए। 

उनका अनुसार, चट्याङ आउनुभन्दा करिब १६ मिनेट अघिनै सूचना दिनसक्ने यस प्रणालीले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियस भित्र साइरन मार्फत चेतावनी दिनेछ। 

यसअघि नगरकोटमा सफल परीक्षण गरिएको प्रणाली राक्सिराङमा पहिलोपटक स्थायी रूपमा जडान गरिएको शर्माले बताए।

मंगलबार एक कार्यक्रमकाबीच भएको प्रविधि हस्तान्तरण कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, वडा अध्यक्षहरू तथा प्राविधिक समूहको उपस्थिति रहेको थियो।

अध्यक्ष मल्लले राक्सिराङलाई उच्च विपद् जोखिमयुक्त क्षेत्र मानेर यस्तो प्रविधिको आवश्यकता रहेको औंल्याउँदै पूर्वसूचना पाएपछि सुरक्षित ठाउँमा पुग्ने तयारी गर्न सजिलो हुने र चट्याङका कारण हुने मानवीय क्षति कम हुने विश्वास व्यक्त गरे। 

पिपुल इन निडको आर्थिक सहयोगमा वितरण गरिएको प्रणाली अन्तर्गत एउटा मुख्य सेन्सर र आठवटा साइरन जडान गरिनेछ। 

प्रमुख स्थानहरूमा राखिने साइरनहरू क्रमशः वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुर, वडा ६ को सिलिङ्गे विद्यालय, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को कन्द्राङ प्रहरी चौकीमा जडान गरिनेछ।

मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका चट्याङको उच्च जोखिममा छन्। चालु आर्थिक वर्ष साउन यता मकवानपुरमा चट्याङ लागेर ६ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad