समाज


कश्मीरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

कश्मीरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १८:३०, काठमाडौँ

भारतको जम्मु कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था भएको हो। 

हिजो कश्मीरमा आतंककारीको आक्रमणमा परेर न्यौपानेको ज्यान गएको थियो। उनको साथमा रहेका आफन्तहरु रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो । आक्रमणमा परेर रिमकला घाइते छन्। 

मन्त्री डा. राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन्। मन्त्री डा राणा र राजदूत डा शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए। 

सो समन्वयपछि आज नै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौँ हवाई जहाजमा तथा लखनौबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो।

दिल्लीबाट लखनौंको उडानका लागि उनीहरुलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूताबासबाट दुई जना कर्मचारी खटाइएको छ। त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरुलाई पुर्‍याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेका थिए।    

घटनास्थलमा रहेका सुदीपका आफन्तहरूले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो। 

सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन्। हिजोको सो आतंककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad