समाज


सशस्त्रमा रिक्त एआईजीमा गिरी र मगरको दौडधुप: ३ वर्षपछि आईजीपी बन्ने कि ८ महिनापछि घर जाने

सशस्त्रमा रिक्त एआईजीमा गिरी र मगरको दौडधुप: ३ वर्षपछि आईजीपी बन्ने कि ८ महिनापछि घर जाने

डीआईजीहरु कमल गिरी, कुलबहादुर नेम्बाङ, गणेश ठाडा मगर र शम्भु सुवेदी


उजिर कार्की
बैशाख ८, २०८२ सोमबार २०:१९, काठमाडौँ

सशस्त्र प्रहरी बलमा रिक्त भएको एक सातासम्म पनि अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा हुन सकेको छैन। प्रतिस्पर्धी डीआईजीहरूको दौडधुपले एआईजी बढुवा सिफारिसमा ढिलाइ भएको हो। 

एआईजी चन्द्रप्रकाश गौतमको अवकाशसँगै सशस्त्रमा एकजना एआईजीको पद रिक्त भएको छ। सीमा सुरक्षा विभागमा कार्यरत गौतम वैशाख २ गते नै अनिवार्य अवकाश भएका हुन्। तर एक सातासम्म पनि सशस्त्रमा रिक्त एआईजी सिफारिस हुन सकेको छैन।

यसअघि नेपाल प्रहरीमा पनि ६ जना एआईजी रिक्त भएको एक महिनापछि मात्रै बढुवाका लागि सिफारिस गरिएको थियो। नेपाल प्रहरीका सबै विभाग खाली हुँदा समेत बढुवा सिफारिस भएको थिएन।

सशस्त्र प्रहरीमा पनि बढुवामा ढिलाइ भइरहेको छ। बढुवाको प्रतिस्पर्धामा मुख्य गरी चारजना डीआईजीहरू लागेका छन्। डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी मुख्य प्रतिस्पर्धी हुन्। तर यीमध्ये पनि कमल गिरी र गणेश ठाडा मगरको धौडधुप चर्को छ।

गिरी पहिलो नम्बरका र ठाडा मगर दोस्रो नम्बरका डीआईजी हुन्।

सरकारले गएको पुस २२ गते उनीहरू चारैजनाको पदावधि एक वर्ष थप गरेको थियो। पुस २३ गते डीआईजीको चार वर्षे पदावधि सकिएर अवकाश हुन लागे पनि सशस्त्र प्रहरी नियमावलीको नियम ६५ अनुसार एक वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार एक वर्ष पदावधि थप हुँदा एकजना भावी नेतृत्वसम्म नै पुग्ने बाटो खुला भएको हो। बाँकी तीनजना भने थप गरिएको पदावधि पनि पूरा गरेर आगामी पुस २३ गतेदेखि अनिवार्य अवकाश हुनेछन्। 

सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने उल्लेख छ। तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। थप गरिएको एक वर्षपछि त्यो भन्दा माथिल्लो तहमा बढुवा नभएमा अवकाश हुने प्रस्ट उल्लेख छ।

यसपछि आगामी पुससम्ममा सशस्त्रमा अरु एआईजी पद रिक्त नहुने भएकाले आगामी पुसमा तीन डीआईजी अनिवार्य अवकाश हुनेछन्। सशस्त्र प्रहरीमा एआईजी र डीआईजीका लागि ५६ वर्षे उमेर हद छ। पदावधि बाँकी रहे पनि ५६ वर्ष पूरा भएमा भने अनिवार्य अवकाश हुनेछन्।

यस्तै ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने व्यवस्था पनि कायम छ। यी तीन अवस्थामध्ये जुन पहिले पूरा भए पनि अवकाश हुने व्यवस्था छ।

एआईजी बने आईजीपी, नबने ८ महिनामै अवकाश
एआईजीका लागि दौडधुप चर्किनुको मुख्य कारण भनेको भावी नेतृत्व समेत जोडिएको हो। अहिले एआईजी नबने ८ महिनामै डीआईजीबाट अवकाश अनिवार्य छ। तर एआईजीमा बढुवा भएमा ३ वर्षपछि आईजीपी बन्ने बलियो सम्भावना छ। 

सशस्त्र प्रहरीमा तीनजना एआईजीको दरबन्दी रहेकोमा अन्य दुईजनाको कार्यकाल भने तत्काल सकिँदैन। 

हालका आईजीपी राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर अवकाश हुनेछन्। 

अर्यालको अवकाशपछि उनकै ब्याचका एआईजी नारायणदत्त पौडेल र वंशी दाहालमध्ये एकजना आईजीपी बन्नेछन्। पौडेलको सम्भावना बढी छ। उनीहरू दुवैजना अर्यालसँगै २०५४ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर पछि एक तह बढुवा हुँदै सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। 

पौडेल र दाहाल जो आईजीपी भए पनि अहिलेकै व्यवस्था कायम रहे २२ महिना नेतृत्व गर्नेछन्। त्यसपछि ३० वर्षे सेवाअवधि पूरा गरेर दुवैजना अनिवार्य अवकाश हुनेछन्। 

पौडेल र दाहालको अवकाशपछि अहिले एआईजी बन्ने व्यक्ति नै आईजीपी बन्ने बलियो सम्भावना हुनेछ। अब अर्को एआईजीको दरबन्दी २०८३ वैशाखमा मात्रै खाली हुनेछ। एक वर्ष नै जुनियर हुने भएकाले एक वर्ष सिनियरलाई छाडेर उनलाई आईजीपी बनाउने सम्भावना कम छ। आगामी वैशाखमा एआईजी हुने व्यक्ति त्यससपछि आईजीपीको रोलक्रममा रहनेछन्।

एआईजीका दाबेदार कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्बाङ २०५६ सालमा प्रहरीमा भर्ना भएका थिए। शम्भु सुवेदी भने हालका आईजीपी अर्यालकै ब्याची हुन्। तर उनी डीआईजीको पदावधिले पहिल्यै अवकाश हुने अवस्था छ। 

अबको दुई नेतृत्वपछि सशस्त्रमै भर्ना भएको टोली नेतृत्वमा पुग्नेछ। अहिले सशस्त्रको पहिलो र दोस्रो ब्याच डीआईजी बनिसकेको छ। यसअघि सशस्त्र प्रहरीमा दुईजना नेपाली सेनाबाट आएका अधिकारीले नेतृत्व गर्दा बाँकी सबै आईजीपी नेपाल प्रहरीबाट गएका अधिकारीहरूले गरेका छन्। अझै दुई आईजीपीको रोलक्रममा पनि नेपाल प्रहरीबाटै स्थानान्तरण भएका अधिकारीहरू छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad