समाज


३ वर्षपछि आईजीपी बन्नेगरी सशस्त्रका ४ डीआईजीको कार्यकाल थपिँदै

आगामी वैशाखमै लाग्नेछ आईजीपी बन्ने एआईजीको टुंगो
३ वर्षपछि आईजीपी बन्नेगरी सशस्त्रका ४ डीआईजीको कार्यकाल थपिँदै

उजिर कार्की
पुस १५, २०८१ सोमबार १९:३४, काठमाडौँ

तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने बाटो खुला गर्न चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को कार्यकाल थप गर्ने तयारी भएको छ। 

अहिले कार्यकाल थप हुने चार डीआईजीमध्ये एकजना आगामी वैशाखमा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा हुनेछन्। त्यतिबेलासम्म अहिलेकै व्यवस्था कायम रहे उनै एआईजीले ३८ महिनापछि सशस्त्र प्रहरीको नेतृत्व गर्ने मौका पाउनेछन्।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिसमा सरकारले चारजना डीआईजीको एक वर्षे कार्यकाल थप गर्ने तयारी गरेको हो। डीआईजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल थप गर्न आईजीपी अर्यालले सिफारिस गरेका हुन्। 

डीआईजीमा उनीहरुको चार वर्षे कार्यकाल पुस २३ गते सकिँदैछ। तर त्यसअघि नै कार्यकाल थपको निर्णय भएमा सेवा अवधि लम्बिने छ र एकजनाले संगठनको नेतृत्वमा पुग्ने अवसर पाउनेछन्। 

सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीहरुको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था छ। सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने उल्लेख छ। तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। थप गरिएको एक वर्षपछि त्यो भन्दा माथिल्लो तहमा बढुवा नभएमा अवकाश हुने प्रस्ट उल्लेख छ। 

तर एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन्। आईजीपीको उमेर हद ५८ वर्षे छ। ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ। 

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट कार्यकाल थपको निर्णय हुने गृह मन्त्रालय स्रोतको दाबी छ। गृह मन्त्रालयले पदावधि थपका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिसकेको छ। 

यस्तो छ नेतृत्वमा पुग्ने हिसाब
सशस्त्र प्रहरीका डीआईजीमध्ये सबैभन्दा वरिष्ठ हुन् किशोर प्रधान। उनको गत वर्ष माघमा एक वर्षे कार्यकाल थप गरिएको थियो। आगामी माघ महिनासम्ममा सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षकको कोटा खाली हुने अवस्था छैन। त्यही भएर उनी आगामी माघ १० गते अनिवार्य अवकाशमा जानेछन्। 

तर उनी एआईजीको दरबन्दी थपका लागि पहल पनि गरिरहेका छन्। सरकारले उनकै लागि कोटा नबढाए प्रधानको अवकाश रोकिने छैन।

आगामी वैशाखमा अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश (सीपी) गौतम ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुँदैछन्। उनी अवकाश भएपछि अब कार्यकाल थप हुने चार डीआईजी मध्येबाटै एकजना एआईजीमा बढुवा हुनेछन्। सशस्त्र प्रहरीमा तीनजना एआईजीको दरबन्दी रहेकोमा अन्य दुईजनाको कार्यकाल भने तत्काल सकिँदैन। 

सीपी गौतमको स्थानमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एकजना एआईजी बन्ने सम्भावना बढी छ। उनीहरुमध्ये जो एआईजीमा बढुवा हुन्छन्, उनै ३८ महिनापछि सशस्त्र प्रहरीको आईजीपी बन्ने करिब निश्चित हुनेछ। 

बाँकी तीनजना भने २०८२ पुस २३ गते डीआईजीमा थपिएको एक वर्षे कार्यकाल पनि पूरा गरेर अवकाश हुनेछन्। त्यतिबेलासम्म अर्को एआईजीको दरबन्दी खाली हुने अवस्था छैन।  

हालका आईजीपी राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर अवकाश हुनेछन्। 

अर्यालको अवकाशपछि उनकै ब्याचका एआईजी नारायणदत्त पौडेल र वंशी दाहालमध्ये एकजना आईजीपी बन्नेछन्। पौडेलको सम्भावना बढी छ। उनीहरु दुवैजना अर्यालसँगै २०५४ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर पछि एक तह बढुवा हुँदै सशस्त्र प्रहरीमा गएका थिए। 

पौडेल र दाहाल जो आईजीपी भए पनि अहिलेकै व्यवस्था कायम रहे २२ महिना मात्रै सशस्त्र प्रहरी महानिरीक्षकमा रहनेछन्। त्यसपछि ३० वर्षे सेवाअवधि पूरा हुनेछ र दुवैजना अनिवार्य अवकाश हुनेछन्। 

त्यसपछिको नेतृत्वमा भने अहिले डीआईजीको कार्यकाल थप भएर वैशाखमा एआईजी बन्ने अधिकारी नै आईजीपी बन्ने अवस्था छ। कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ २०५६ सालमा प्रहरीमा भर्ना भएका थिए। शम्भु सुवेदी भने आईजीपी अर्यालकै ब्याची हुन्। 

यो टोलीको अवकाशपछि भने सशस्त्र प्रहरीमै भर्ना भएको पहिलो ब्याच नेतृत्वमा पुग्नेछ। अहिले पहिलो ब्याचमा भर्ना भएको टोलीका केही डीआईजी भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad