नेपाल पत्रकार महासंघले स्याङ्जाको स्थानीय प्रशासनले आँधीखोला एक्सप्रेस डटकमका पत्रकार रोशन लामिछानेमाथि कारबाही प्रक्रिया अगाडि बढाएकोमा ध्यानाकर्षण भएको जनाएको छ।
उक्त अनलाइनमा उद्योग वाणिज्य संघले आयोजना गरेको सातौँ स्याङ्जा महोत्वसवका बारेमा प्रकाशित समाचारलाई लिएर पत्रकार लामिछाने विरुद्ध उजुरी दर्ता भएको भन्दै जिल्ला प्रशासन कार्यालयले कारबाहीका लागि प्रहरी कार्यालयलाई पत्राचार गरेको महासंघ गण्डकी प्रदेश समितिले जनाएको छ।
लामिछाने महासंघ गण्डकी प्रदेश समितिको सदस्य समेत हुन्।
‘समाचारमा चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने स्थापित प्रावधान छ’ महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति निकालेर भनेका छन्, ‘यसलाई बेवास्ता गर्दै जिल्लाकै प्रमुख प्रशासनिक केन्द्रबाट पत्रकारलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनु आफैँमा लज्जास्पद र खेदजनक कार्य हो।’
प्रशासनको यो कदमलाई प्रेस स्वतन्त्रताविरोधी हर्कतका रुपमा लिँदै महासंघले पत्रकारको संवैधानिक सुनिश्चिततामाथि आघात पुग्ने गरी यस प्रकारका हर्कत नगर्न/नगराउन तथा प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र र निर्वाध रुपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया