सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम आज मंगलबारदेखि अवकाशप्राप्त हुने भएका छन्।
उनलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले मंगलबार नै विदाइ गर्ने कार्यक्रम रहेको सशस्त्र प्रहरीका प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए।
सीमा सुरक्षा विभागमा कार्यरत गौतम सशस्त्रमा कायम ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन्। ३० वर्षे हटाएर आफ्नो कार्यकाल लम्ब्याउन एक महिनायता कार्यालय नै नगई प्रयास गरे पनि सम्भव नभएपछि गौतमको सेवा अवधि टुंगिएको हो।
गौतमको अवकाशसँगै सशस्त्र प्रहरीका उच्च तहमा अब नेपाली सेनाबाट गएका अधिकृतहरु रहनेछैनन्। २०५८ फागुनमा १२५ जना सैनिकहरु सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। त्यतिबेला नेपाली सेना र नेपाल प्रहरीबाट जाने अधिकृतहरुलाई एक तह बढुवा गरिएको थियो।
नेपाली सेनाबाट गएका दुई जना अधिकृतहरु सशस्त्र प्रहरीको प्रमुख समेत भए। सनतकुमार बस्नेत र शैलेन्द्र श्रेष्ठ सशस्त्र प्रहरीको प्रमुख बनेका थिए। त्यसबाहेक सशस्त्र प्रहरीको नेतृत्व भने हालसम्म पनि नेपाल प्रहरीबाट स्थानान्तरण भएकै अधिकारीहरुले गरिरहेका छन्।
अझै केही आईजीपी बन्ने लाइनमा नेपाल प्रहरीबाटै गएका अधिकारीहरु छन्। नेपाली सेनाबाट स्थानान्तरण भएकामध्ये अब चार जना मात्रै कार्यरत छन्। त्यसमध्ये तीन जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) र एक जना नायव निरीक्षक (सइ)मा कार्यरत छन्।
सेनाबाट गएको सबै टोली २०८४ फागुन १३ गते मात्रै विदा हुनेछ। सशस्त्र प्रहरी ऐन नयाँ आएमा अवकासको अवधि लम्बिनेछ।
२०५२ वैशाख ३ गते नेपाली सेनामा भर्ना भएका गौतम क्याप्टेन हुँदा सशस्त्र प्रहरीमा सरेका थिए। उनी सशस्त्र प्रहरीमा एक तह बढुवा हुँदा डीएसपी बनेका थिए। २०६३ चैत २९ गते एसपी र २०७० साउन ३ गते एसएसपीमा बढुवा भएका थिए।
२०७५ पुस १३ गते डीआईजीमा बढुवा भएका गौतम २०७९ जेठ २३ गते एआईजी बनेका थिए।
उनी अवकाशप्राप्त भएसँगै सशस्त्र प्रहरीमा एक जना एआईजीको दरबन्दी खाली भएको छ।
रिक्त एआईजीका लागि डीआईजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी प्रमुख दाबेदार हुन्। तर पहिलो नम्बरमै रहेका गिरीको सम्भावना बढी छ।
अब एआईजीमा बढुवा हुने अधिकारी नै ३ वर्षपछि सशस्त्र प्रहरीको महानिरीक्षक समेत बन्नेछन्। बाँकी तीन जना डीआईजीहरु भने आगामी पुसमा अनिवार्य अवकाशप्राप्त हुनेछन्। उनीहरुको डीआईजीको पदावधि गएको पुसमा नै सकिएको थियो। तर सशस्त्र प्रहरीमा एक वर्ष थप गर्न सकिने व्यवस्थाअनुसार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिसमा सरकारले एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको थियो।
यसबीचमा एआईजीका अरु पद रिक्त नहुने भएपछि उनीहरु थप गरिएको पदावधि पनि पूरा गरेर अवकाश हुने भएका हुन्।
गिरी र ठाडा मगरमध्ये एक जना एआईजी बन्दा नेम्वाङ र सुवेदीसहित तीन जना पुसमा अवकाश हुनेछन्। तर अहिले एआईजी हुने अधिकारी भने ३ वर्षपछि नेतृत्वमा पुग्ने अवस्था समेत छ।
हालका आईजीपी राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर अवकाशप्राप्त हुनेछन्।
अर्यालको अवकाशपछि उनकै ब्याचका एआईजी नारायणदत्त पौडेल र वंशी दाहालमध्ये १ जना आईजीपी बन्नेछन्। पौडेलको सम्भावना बढी छ। उनीहरु दुवै जना अर्यालसँगै २०५४ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर पछि एक तह बढुवा हुँदै सशस्त्र प्रहरीमा गएका थिए।
पौडेल र दाहाल जो आईजीपी भए पनि अहिलेकै व्यवस्था कायम रहे २२ महिना मात्रै सशस्त्र प्रहरी महानिरीक्षकमा रहनेछन्। त्यसपछि ३० वर्षे सेवा अवधि पूरा हुनेछ र दुवै जना अनिवार्य अवकाश हुनेछन्।
त्यसपछिको नेतृत्वमा भने अब एआईजी बन्ने अधिकारी नै आईजीपी बन्ने अवस्था छ। यीमध्ये शम्भु सुवेदी भने आईजीपी अर्यालकै ब्याची हुन्।
यो टोलीको अवकाशपछि भने सशस्त्र प्रहरीमै भर्ना भएको पहिलो ब्याच नेतृत्वमा पुग्नेछ। अहिले पहिलो ब्याचमा भर्ना भएको टोलीका अधिकारीहरु डीआईजी बनिसकेका छन्। यस्तै दोस्रो ब्याचबाट पनि दुई जना डीआईजी भइसकेका छन्।
Shares

प्रतिक्रिया