चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसा भड्काएर भागेका दुर्गा प्रसाईं १५ दिनपछि हिरासतमा परे। भाग्दाभाग्दै पनि आफू डराउँदिनँ भनेका प्रसाईं पक्राउ परेपछि भने आफैँ आत्मसमर्पण गरेको दाबी गरिरहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई हिरासतमा राख्नुपहिले शुक्रबार जिल्ला अदालतमा उपस्थित गरायो। अदालतले उनलाई पहिलोपटक १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
क्यान्सरका बिरामी समेत रहेका प्रसाईंको स्वास्थ्यमा ख्याल गर्न पनि अदालतले प्रहरीलाई आदेश दिएको छ। अब प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउनेछ। अनुसन्धान नसकिए १२ दिनपछि फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
यो १५ दिन प्रसाईंले प्रहरीलाई निक्कै हैरानीमा पारे। त्यसदिन बानेश्वरमा प्रहरीलाई पेलेर गाडी चलाएका उनी मञ्चमा फर्किएर भीड उक्साए अनि, सटरभित्र लुके। बाहिर प्रहरीले उनका समर्थकमाथि गोली चलाउन थाल्यो। उनी भने आफ्ना सेनामेनासहित फुत्किए।
जतिबेलासम्म उनी प्रहरीसामु थिए, त्यसबेलासम्म पक्राउ गर्ने आदेश थिएन। जब उनले डाँडो काटे, अनि प्रहरीले आदेश पायो। आफ्नै अगाडि रडाको मच्चाएर भागेका प्रसाईंलाई पक्राउ गर्न नसकेको भनेर प्रहरीको नियतमै प्रश्न पनि उठ्यो।
सुरुमा खेलाँची गर्दा फुत्किएका प्रसाईंलाई पक्रन प्रहरीले भारतीय भूमिमा तीनवटा टोली फेरबदल गर्दै १५ दिन खट्नुपर्यो। तर प्रहरीको मिसन सफल पार्न भने प्रसाईं नै सहयोगी बने। उनले परिवारलाई गरेको सञ्चार सम्पर्क र उनले सार्वजनिक गरेका भिडिओ प्रहरीलाई प्रमाण बन्यो।

प्रसाईं खोज्न शाहको कमान्डमा चार युनिटको समिति
प्रसाईं पक्राउ गर्ने आदेशपछि प्रहरीका विशेष युनिट ब्युरोदेखि जिल्लाका युनिटहरूले पनि खोजी सुरु गरे। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि सुरुमा छुट्टाछुट्टै टोली परिचालन गरे। एउटासँग एउटा सूचना, अर्कोसँग अर्कै। एउटा टोली एकातिर अर्को अर्कातिर लाग्न थाले।
त्यसपछि प्रहरी महानिरीक्षक दीपक थापाले सबै टोलीलाई समन्वय गरेर प्रसाईंलाई पक्राउ गर्न भन्दै एउटा समिति बनाए।
टोलीको नेतृत्व विशेष ब्युरोका प्रमुख डीआईजी सिद्धिविक्रम शाहले गरे। उक्त टोलीमा थिए, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटी, साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) प्रदीन ताम्राकार र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरे।
प्रसाईं नेपालमा भेटिएनन्। प्रहरीले दुई दिन लगाएर पत्ता लगायो उनी भारत पुगिसकेछन्। तीनकुनेको प्रदर्शनको कमान्डर नै भागेको भन्दै समर्थकले पनि प्रसाईंको आलोचना गरे। उनीसँगै तीनकुनेको प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले धमाधम पक्रन थाल्यो। प्रसाईंका आसपासका सहयोगीहरू पनि पक्राउ पर्न थाले।
प्रसाईंले भने प्रहरीलाई फेरि चक्मा दिए एउटा भिडिओ मार्फत। काठमाडौँबाट भागेको दुई दिनपछि एउटा मन्दिरसामु रेकर्ड गराएको भिडिओ सचिवालय मार्फत सार्वजनिक गरे।
आफू नेपालमै रहेको दाबी उनको थियो। आफू डरले नभागेको तर सुरक्षित हुनका लागि कतै बसिरहेको दाबी उको थियोा। त्यसपछि प्रहरीले उनको पृष्ठभूमिमा देखिएको मन्दिर बारे देशभर सर्कुलर जारी गर्यो। कतैबाट पनि त्यसको सुराक मिलेन।
प्राविधिक हिसाबले खोजी गर्न उनको मोबाइल ललितपुरमै बन्द भइसकेको थियो। त्यसपछि मोबाइल खुलेको थिएन।

तर उनी भने झापाबाट सिलगुडी हुँदै भारतको असामस्थित बक्सा जिल्लाको निकासी बन्ने ठाउँमा पुगिसकेका थिए। यो ठाउँ भुटानी सीमानाबाट करिब ५ किलोमिटरको दूरीमा पर्छ।
त्यहाँ हिन्दुवादी संस्थाका एक निकट व्यक्ति थिए। जोसँग प्रसाईंको पहिल्यैबाट राम्रो सम्बन्ध थियो। एक दिन दुईरात उनैको घरमा बसे प्रसाईं। घरको कम्पाउन्डभित्रै मन्दिर थियो। भोलिपल्ट बिहान मन्दिरमा दर्शन गरे। अनि एउटा भिडिओ सन्देश रेकर्ड गराए। त्यही भिडिओ सार्वजनिक गरेर उनले नेपालमै रहेको दाबी गरेका थिए।
यता प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई ट्र्याक गरिसकेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा त्यो सूचना पुग्यो। विशेष ब्युरोले ट्रयाक गरेको सूचनापछि अनुसन्धान कार्यालयको टोली प्रसाईं काठमाडौँबाट भागेको गाडी र चालक लिएर फर्किएको थियो।
प्रसाईं भारतबाटै पनि विभिन्न माध्यमबाट आफ्नो परिवारको सम्पर्कमा थिए। प्रसाईंलाई लोकेट गर्न प्रहरीका लागि यो पनि एउटा माध्यम बन्यो।
आपराधिक गतिविधिमा संलग्नहरूलाई भारतीय भूमिबाट नेपाल ल्याउन सक्ने प्रहरी अधिकारीहरूलाई विशेष ब्युरोले परिचालन गरेको थियो।
प्रसाईं भने असामबाट प्रयागराज आए। प्रसाईं प्रयागराज आइपुगेको सूचना विशेष ब्युरोले पायो र एउटा टोली तत्काल त्यहाँ खटियो। तर त्यो टोली प्रयागराज पुग्दा प्रसाईं हिँडिसकेका थिए।
त्यो टोली त्यहाँबाट फिर्ता हुन्छ। प्रसाईं लखनउ पुग्छन्। एक दिन लखनउमै बसेको प्रहरीको निष्कर्ष छ। लखनउबाट फेरि उनी दिल्ली पुगेको र त्यहाँ उनले केही भेटघाटको प्रयास गरेको दाबी प्रहरी अधिकारीहरू गर्छन्।
यही सूचना पाएपछि प्रहरीले तत्काल दुई जना अधिकारीहरूलाई दिल्ली पठाएको थियो। तर दिल्ली पुगेका अधिकारीहरूले पनि प्रसाईं त्यहाँबाट अन्तै सरिसकेको पुष्टि गरे। प्रहरीलाई आएका सूचनाहरू प्राविधिक रूपमा पनि पुष्टि भएको दाबी अधिकारीहरूको छ।

दिल्लीमा उनी केही घण्टा बसेर राजस्थान पुगेको र त्यहाँ एक जना धर्मगुरुसँग भेट गर्छन्। प्रहरीको दाबी भने उनले त्यहाँ आफ्नो सुरक्षाका लागि सहयोग मागेको भन्ने छ। तर दुर्गा प्रसाईं निकट स्रोत भने यो कुरा अस्वीकार गर्छ।
प्रसाईं निकट स्रोत भन्छ– प्रहरीले प्रसाईंलाई लोकेट गर्न सकेकै थिएन। तर उनको पछाडि मान्छे लागेको भने प्रसाईंलाई शंका थियो। आफ्नो ज्यान नै लिने तयारी भएको दाबी प्रसाईंले आफ्ना निकटसँग गरेका छन्।
उनले उत्तर प्रदेशका एक नेतासँग भेटघाट गर्ने कोसिस पनि गरेका थिए। तर त्यो नमिलेपछि फेरि उनी आफ्ना पुराना सम्बन्धहरू केलाउँदै विभिन्न सहर पुगेको प्रहरीको दाबी छ।
दिल्लीमा भारतीय नेताहरू भेट्ने कोसिस गरे पनि असफल भएपछि उनी आसाम नै फर्किएर पहिलेकै घरमा बसेको दाबी प्रहरीको छ। उनले आफू जहाँ पुग्छन्, त्यहाँबाट परिवारको सम्पर्कमा आएका थिए। प्रहरीले यसरी पनि उनलाई लोकेट गर्ने कोसिस गरिरहेको थियो।
दिल्लीबाट उनी सरिसकेको चाल पाएपछि प्रहरीले फेरि अर्का प्रहरी अधिकारीलाई दिल्ली पठायो। दिल्लीमा तीनजनाको टोली भेटियो र थप अनुसन्धान अगाडि बढायो।
दोस्रोपटक आसाम फर्किंदा भने प्रहरीले उनलाई लोकेट गर्न मात्रै सफल भएन। उनी बसेको घर नै पत्ता लगायो। उनले भिडिओ रेकर्ड गरेको मन्दिर पनि फेला पारेको थियो।
तर त्यो ठाउँ गाउँजस्तै थियो। त्यहाँ पुगेका नयाँ मान्छेको बारेमा बढी नै चासो हुन्थ्यो। नेपालबाट पुगेका प्रहरी पनि उनीहरूको शंकाको घेरामा परे। प्रसाईं रहेको घर यकिन गरेर भारतीय प्रहरीसँग नेपाल कसरी ल्याउने भनेर समन्वय अगाडि बढायो।
त्यसका लागि प्रहरीको उच्च नेतृत्वले भारतीय प्रहरीको नेतृत्वसम्म कुरा गरेको थियो। प्रहरी उच्च स्रोतका अनुसार उनलाई नेपाल फर्काउने कुरामा भारतीय प्रहरी पनि सहयोग गर्न तयार भयो।

तर प्रसाईंले भने आफ्नो पछाडि केही मानिसहरू लागेकाले सुरक्षाका लागि आसाम प्रहरीको सम्पर्कमा पुगेर नेपाल फर्काइदिन आफैँले अनुरोध गरेको दाबी गरेका छन्। प्रहरी स्रोतले भने यो दाबीलाई खण्डन गरेको छ।
तर प्रसाईं आसाममा प्रहरीको नियन्त्रणमा रहेको सूचना नेपालखबरले प्राप्त गर्यो। जुन सूचना प्रसाईंको परिवार र प्रहरी स्रोतबाट पनि पुष्टि भयो। अन्ततः बिहीबार रातभर भारतीय प्रहरीले नै प्रसाईंलाई नेपालको सीमामा ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्यो।
प्रसाईंलाई लिनका लागि पानी ट्यांकीभन्दा केही परसम्म नेपालबाट दुई वटा गाडीमा ९ जना प्रहरी टोली पुगेका थिए। प्रसाईंलाई आसाममा पत्ता लगाउने अधिकारीहरू भने राति नै नेपाल आइसकेका थिए।
त्यसअघि प्रसाईं आसाम प्रहरीको नियन्त्रणमा रहेको समाचार नेपालखबरमा प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयमा हलचल नै मच्चिएको थियो। अब उनलाई नेपाल ल्याउन अप्ठेरो पर्ने भन्दै प्रहरी उच्च अधिकारीहरू आत्तिएका थिए।
समाचार प्रकाशन भएको केही समयमै प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले विज्ञप्ति नै जारी गरेर समाचारको खण्डन गर्दै अहिलेसम्म प्रसाईं पक्राउ नपरेको दाबी गरे। तर प्रहरी उच्च स्रोतले भने उक्त विज्ञप्ति पनि भारतबाट नेपाल ल्याउन अप्ठेरो नपरोस् भनेर विश्वस्त पार्न निकालिएको दाबी गरेको छ।
राति पक्राउ नै नपरेको दाबी गरेका प्रहरी प्रवक्ता आचार्यले शुक्रबार बिहान झापाबाटै पक्राउ परेको दाबी गर्दै अर्को विज्ञप्ति निकाले।
प्रसाईंलाई भने राज्यविरुद्धको कसुर र संगठित अपराधमा म्याद थप गरिएको छ। अहिले तत्काल अनुसन्धान अगाडि बढाउनका लागि यी कसुरमा म्याद लिएको भएपनि पछि ज्यान मार्ने उद्योगसहितका अन्य कसुर पनि थप हुने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
Shares

प्रतिक्रिया