समाज


दुर्गा प्रसाईंसँगै अंगरक्षक दीपक खड्का पनि पक्राउ

दुर्गा प्रसाईंसँगै अंगरक्षक दीपक खड्का पनि पक्राउ

दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्काको फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८१ शुक्रबार ११:२६, काठमाडौँ

भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंसँगै प्रहरीले उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिएको छ।

प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेका छन्। 

उनीहरूलाई आजै बिहान काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइएको छ।

अब झापास्थित भद्रपुर विमानस्थलबाट उनीहरूलाई फ्लाइटमा काठमाडौँ ल्याइने प्रहरीले जनाएको छ।

राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा रिपोर्टिङ गरिरहेका पत्रकारसहित २ युवक मारिएका थिए भने तोडफोड, आगजनी र लुटपाटबाट करोडौँ मूल्यकाे क्षति भएको थियो। 

प्रसाईं त्यस समितिअन्तर्गतका जनकमान्डर हुन्। तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए। 

त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ७३ भन्दा बढी आरोपितलाई पक्राउ गरिसकेको छ। 

प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो। फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए। 

प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो।

विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियो। प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जालसमेत नचलाएर उनी गुपचुप बसेका थिए।

तर बुधबार उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए।

यसरी भागेका थिए प्रसाईं​
काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको सूचना प्रहरीले घटनाको केही दिनमै पाइसकेको थियो।

प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंकै झापास्थित मेडिकल कलेज बीएन्डसीमा फेला पारेको थियो। 

बागमती प्रदेशको बी-ए-बी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ। 

काठमाडौँको तीनकुनेस्थित सभास्थलबाट समर्थकलाई उग्र बन्न उक्साएर प्रसाईं एउटा घरको सटरभित्र लुकेका थिए। त्यतिबेला तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो। प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरिरहेको थियो। 

उनको कमान्डमा उत्रिएका समर्थकले तीनकुनेका निजी घरमा ढुंगामुढा गरिरहेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रसाईं भने निजी सुरक्षाकर्मी र समर्थकको आडमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँगै गाडीमा चढेर भागेका थिए। 

सोही गाडीमा उनीसहित ६ जना काठमाडौँबाट बीपी राजमार्ग हुँदै काकडभिट्टा नाकासम्म पुगेको सूचना प्रहरीले पाएको थियो।

बीएन्डसीमा फेला परेको गाडी र त्यसका चालकलाई प्रहरीले गत साता नै नियन्त्रणमा लिएर काठमाडौँ ल्याइसकेको छ। तर प्रसाईं भने आफ्ना केही सहयोगीसहित भारतमै रहेका थिए।

काठमाडौँबाट काकडभिट्टासम्म जाँदा प्रसाईं चालकभन्दा पछाडिको सिटमा बसेर गएका थिए। काकडभिट्टाबाट आफ्नो गाडी बीएन्डसीमा फर्काएर उनी अर्को गाडीमा भारत गएको पुष्टि भएको छ। 

प्रसाईंको खोजी गर्दै यसअघि दुईजना प्रहरी झापास्थित प्रसाईंको घरमा पनि पुगेका थिए। प्रसाईं बीपी राजमार्ग हुँदै भारततर्फ लाग्नु पहिले इमाडोलस्थित खतिवडाको घरमा पुगेका थिए। 

त्यहाँ फलफूल र चिया खाएपछि प्रसाईंले धवल शमशेरलाई अन्तिम कल गरेर मोबाइल बन्द गरेका थिए। प्रसाईं भागेपछि तीनकुनेका प्रदर्शनकारीको नेतृत्व राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवल शमशेरले गरेका थिए। 

उनीहरूले पनि पछाडि नहट्न भन्दै हिंसात्मक घटनामा अग्रसर हुन प्रदर्शनकारीलाई उक्साएको भिडिओ सार्वजनिक भएका छन्। प्रहरीले चैत १५ गतेको घटनालगत्तै मिश्र र राणासहित कम्तीमा ७० जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। 

उनीहरूलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad