राजनीति


दुर्गा प्रसाईं भागेको गाडी बीएन्डसीमा भेटियो, चालकसहित प्रहरीले ल्यायो काठमाडौँ

अन्तिम कल धवलशमशेरलाई गरेर काकडभिट्टा हुँदै छिरे भारत
दुर्गा प्रसाईं भागेको गाडी बीएन्डसीमा भेटियो, चालकसहित प्रहरीले ल्यायो काठमाडौँ

उजिर कार्की
चैत २१, २०८१ बिहिबार २२:६, काठमाडौँ

काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको पुष्टि भएको छ। प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंले सञ्चालन गरेको झापाको बीएन्डसी कलेजमा फेला पारेको छ। 

बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ। 

काठमाडौँको तीनकुनेस्थित सभास्थलबाट समर्थकलाई उग्र बन्न उक्साएर प्रसाईं एउटा घरको सटरभित्र लुकेका थिए। त्यतिबेला तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो। प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरिरहेको थियो। 

उनको कमान्डमा उत्रिएका राजावादी समर्थकले तीनकुनेका निजी घरमा ढुंगामुढा गरिरहेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रसाईं भने निजी सुरक्षाकर्मी र समर्थकको आडमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँगै गाडीमा चढेर भागेका थिए। 

सोही गाडीमा उनीसहित ६ जना काठमाडौँबाट बीपी राजमार्ग हुँदै काकडभिट्टा नाकासम्म पुगेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। बीएन्डसीमा फेला परेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याइसकेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गाडी र चालकलाई नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको हो। तर प्रसाईं भने आफ्ना केही सहयोगीसहित भारतमै रहेको पनि स्रोतले पुष्टि गरेको छ। 

काठमाडौँबाट काकडभिट्टासम्म जाँदा प्रसाईं चालकभन्दा पछाडिको सिटमा बसेर गएका थिए। काकडभिट्टाबाट आफ्नो गाडी बीएन्डसीमा फर्काएर उनी अर्को गाडीमा भारत गएको पुष्टि भएको छ। 

प्रसाईंको खोजी गर्दै यसअघि दुईजना प्रहरी झापास्थित प्रसाईंको घरमा पनि पुगेका थिए। प्रसाईं बीपी राजमार्ग हुँदै भारततर्फ लाग्नु पहिले इमाडोलस्थित खतिवडाको घरमा पुगेका थिए। 

त्यहाँ फलफूल र चिया खाएपछि प्रसाईंले धवल शमशेरलाई अन्तिम कल गरेर मोबाइल बन्द गरेका थिए। प्रसाईं भागेपछि तीनकुनेका प्रदर्शनकारीको नेतृत्व राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवल शमशेरले गरेका थिए। 

उनीहरूले पनि पछाडि नहट्न भन्दै हिंसात्मक घटनामा अग्रसर हुन प्रदर्शनकारीलाई उक्साएको भिडिओ सार्वजनिक भएका छन्। प्रहरीले चैत १५ गतेको घटनालगत्तै दुवैजनालाई पक्राउ गरिसकेको छ। अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। 

यो घटनामा पक्राउ पर्नेको संख्या ६६ पुगिसकेको छ। अरु केहीलाई पनि पक्राउ गरेको प्रहरीले म्याद थप गर्न बाँकी रहेको जनाएको छ। उनीहरूलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ। यीमध्ये मिश्र र राणासहित २१ जनालाई भने राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अगाडि बढाइएको हो। प्रसाईंका सहयोगीहरू पनि पक्राउ परेका छन्। 

के भएको थियो त्यो दिन?
प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले आफू सक्रिय हुने संकेत गर्दै भिडिओ सन्देश सार्वजनिक गरे। त्यसपछि राजावादी दलसँगै अन्य समर्थक समूहहरू जागेका थिए। 

गएको फागुन २५ गते ज्ञानेन्द्र पोखराबाट काठमाडौँ आउँदा निर्मल निवास पुर्‍याउन उर्लिएका समर्थक देखेपछि उनीहरू झनै हौसिए। यही माहोलले गणतन्त्रवादीहरूलाई भने झस्कायो। 

ज्ञानेन्द्र सक्रिय बनेको विरोधमा गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले चैत १५ गते प्रदर्शन गर्ने तय गर्‍यो। त्यही दिन राजावादीहरूले पनि तीनकुनेमा प्रदर्शन गर्न प्रशासनबाटै अनुमति लिए। 

राजावादीले निर्मल निवासबाटै प्रसाईंलाई कमान्डर तोके। उनै प्रसाईंको नेतृत्वमा राप्रपाका नेताहरू पनि तीनकुनेमा उत्रिए। 

दिउँसो पौने १२ बजेदेखि सवा १२ बजेसम्ममा तीनकुनेमा करिब ३५ सय समर्थक उपस्थित भइसकेका थिए। तीन हजार समर्थक बालकुमारीबाट र दुई हजार समर्थक चाबाहिलबाट तीनकुनेमा जम्मा भएको प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले बताए। 

त्यसपछि भीड कार्यक्रमस्थलतिर भन्दा पनि निषेधित क्षेत्रतर्फ प्रहरी घेरा तोड्नतर्फ अग्रसर भयो। केहीबेर समर्थक र प्रहरीबीच धकेलाधकेल भयो। 

तिनले पौने १ बजेदेखि प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थाले। प्रसाईं, मिश्र र धवलशमशेरले पनि आफ्ना समर्थकलाई पछि नहट्न निर्देशन दिए। राजावादीहरू झनझन् उत्तेजित हुँदै गए। त्यसपछि १२ः५० बजेबाट प्रहरीले अश्रुग्यास प्रहार गर्न थाल्यो।

त्यतिबेलासम्म पनि अवस्था नियन्त्रणबाहिर थिएन। तर जब दुर्गा प्रसाईं १ बजेर २० मिनेट जाँदा ३ हजारदेखि ३५ सय समर्थकसहित आएर मञ्चतर्फ नगई सिधै प्रहरी घेरा तोड्नतर्फ लागे। उनी परैबाट समर्थकलाई ‘आओ आओ’ भन्दै आफै गाडी चलाएर प्रहरी घेरा तोड्दै बानेश्वरतर्फ अगाडि बढे। उनले प्रहरीलाई पेल्दै अगाडि बढाएको बा प्र ००२७ च ३६४७ नम्बरको जिप प्रहरीले पुल तरिसकेपछि मात्रै नियन्त्रणमा लियो। गाडी प्रहरी घेरा तोड्दै अगाडि बढेपछि भने प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो। 

तर त्यसपछि पनि प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएन। सयौँ प्रहरीको बीचबाटै प्रसाईं फेरि मञ्चमा फर्किए। धवल, रवीन्द्र र पुष्करको बीचमा बसेर अब आन्दोलन पछाडि नफर्किने भन्दै अगाडि बढ्न र प्रहरीमाथि जाइलाग्न निर्देशन दिए। प्रसाईंको हातबाट माइक खोसेर रवीन्द्र मिश्रले पनि थपे, ‘अब पछाडि हेर्ने होइन, अगाडि बढ्नुस्, दुर्गाजी यहीँ हुनुहुन्छ, धवलजी यहीँ हुनुहुन्छ तपाईंहरू पनि हिँड्नुहोस्।’

त्यसपछि त्यो भीडले व्यक्तिका घरमा ढुंगामुढा गर्न थाल्यो। केहीबेरमा सडकमा टायर बाल्न थाल्यो। अराजक जत्थाले सवा २ बजेतिर त्यही आगो लगेर व्यक्तिको घरमा झोस्यो। पत्रकार सुरेश रजक त्यहीँ मारिए। 

प्रहरीले भीडलाई हटाउन सकेन। घर जलिरहँदा निभाउन गएको दमकल तोडफोड भयो। सञ्चार गृहमा तोडफोड गरे। 

प्रहरी अश्रु ग्यास र हवाइ फायर गर्दै दमकल पुर्‍याउन सफल भयो। प्रदर्शनकारीहरू भने विमानस्थल आसपास आगो लगाउन अगाडि बढिरहेका थिए।  

२ बजेर ५४ मिनेटमा पहिलोपटक गोली चलाएको प्रहरीले दाबी गरेको छ। ३ बजेर ५ मिनेटमा प्रहरीकै गाडी जलाइएको थियो। प्रदर्शनकारीले लागुऔषध नियन्त्रण ब्युरोको गाडीमा आगो लगाएका थिए।  

भीड तितरबितर हुँदै कोटेश्वरतर्फ अगाडि बढेको थियो। त्यहीबेला कोटेश्वर प्रहरीको गाडीमा आगजनीको प्रयास गरेको समूहले बालकुमारीमा हलेसी तुवाचुङ नगरपालिका र रास्वपाका सांसदको गाडी जलाएको थियो। त्यसपछि भाटभटेनीमा लुटपाट तथा तोडफोड गरेको प्रहरीले दाबी गरेको छ।

त्यहाँबाट जडिबुटी उद्योगमा पुगेका प्रदर्शनकारीले सुरुमा त्यहाँ रहेका गाडीमा आगजनी गरेका थिए। पछि कार्यालयमै आगो लगाए। प्रहरीले चलाएको गोली लागेर २० जना घाइते भएका थिए। तीमध्ये १३ जना अझै अस्पतालमा छन्। प्रदर्शनकारी ५३ जना र दुवै प्रहरी संगठनका गरी ७७ जना घाइते भएका थिए।
 
तर केही निर्दोष व्यक्तिहरूमाथि पनि प्रहरीले गोली चलाएको खुलेको छ। प्रहरीले भने भाटभटेनी जोगाउन जाँदा गोली चलाएको दाबी गरेको छ।

जडिबुटी उद्योगमा आगो लागेपछि भने प्रशासनले त्यसक्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा जारी गरेर सेना सडकमा निस्किएसँगै स्थिति सामान्य बन्दै गएको थियो।

भोलिपल्ट ७ बजेपछि निषेधाज्ञा हटेको थियो। 

त्यतिबेलासम्म राप्रपाका दुई नेतासहित प्रहरीले झण्डै सय जनालाई पक्राउ गरिसकेको थियो। प्रसाईंलाई घरमा लगेर फलफूल र चिया खुवाएर पठाएका पुष्कर खतिवडालाई पनि प्रहरीले भोलिपल्ट नियन्त्रणमा लिएको थियो।

उनले प्रहरीलाई बताए अनुसार प्रसाईं त्यहीँ मोबाइल बन्द गरेर भागेका थिए। प्रहरीको प्राविधिक अनुसन्धानबाट पनि उक्त कुरा पुुष्टि भएको छ। 

अनुसन्धानमा खटिएका प्रहरीले भने तत्काल प्रसाईंलाई पक्राउ गर्न आदेश नपाएको र उनी भागिसकेपछि राति मात्रै आदेश आएको बताएका छन्। 

पछि प्रहरीले खोजिरहँदा प्रसाईंले भने सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेका थिए। त्यसपछि उनको खोजीमा लागिरहेको प्रहरीले अझै पक्राउ गर्न नसक्दा आफै भगाएको आरोप समेत लागेको छ। तर प्रसाईंलाई खोजिरहेको प्रहरी प्रवक्ता आचार्यको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad