राजनीति


दुर्गा, रवीन्द्र र धवलले भीड उक्साए, अनि भड्कियो तीनकुनेमा दंगा (भिडिओ)

दुर्गा, रवीन्द्र र धवलले भीड उक्साए, अनि भड्कियो तीनकुनेमा दंगा (भिडिओ)

भिडलाई उक्साउँदै रवीन्द्र मिश्र र धवलशमशेर राणाले भने- रमिता हेर्ने होइन, अगाडि बढ्नुस्


नेपालखबर
चैत १५, २०८१ शुक्रबार २०:४६, काठमाडौँ

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ उत्तेजक र हिंसात्मक छन् भन्ने कुरा उनका विगतका गतिविधिले पटकपटक पुष्टि गरेकै हो। 

शुक्रबार तीनकुनमा गरिएको प्रदर्शनका ‘जनकमान्डर’ उनै थिए। उनले ड्युटीमा रहेका प्रहरीमाथि नै जबरजस्ती गाडी कुदाउन खोजेका थिए। आफैँले हाँकेको गाडीको झ्यालबाट समर्थकलाई प्रहरीको घेरा तोड्न उनले उक्साइरहेका थिए। 

प्रहरीले रोक्न खोज्दा पनि उनी रोकिएनन् र सुरक्षा घेरा तोडेरै छाडे। यतिन्जेल प्रहरी पनि संयमित देखिन्थ्यो। किनभने, सुरक्षाकर्मीको चेतावनी अटेरी गरी उनी गाडी हुइँकाइरहेका थिए र समर्थकलाई उत्तेजित बनाइरहेका थिए।

उनी मात्र होइन, तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणाको पनि प्रकट भूमिका देखियो।

राणाले फेसबुकमा पोस्ट गरेको एउटा भिडिओमा सो कुरा प्रस्ट देखिन्छ।

जहाँ मिश्र र राणा मञ्च खाली गरेर सडकमा आउन प्रदर्शनकारीलाई उक्साइरहेका छन्। जबकि, त्यसबेलासम्म प्रदर्शनकारी तीनकुनेको खुला चौरमै नाराबाजी गरिरहेका छन्। 

‘रमिता हेर्ने होइन मञ्चबाट और्लाैँ साथीहरू, तपाईँहरू पनि अगाडि बढ्नुस्, हामी पनि अगाडि बढ्छौँ,’ राणा माइकबाट भन्छन्। 

लगत्तै उनको हातबाट माइक तानेर मिश्र पनि चिच्याउँदै थप्छन्, ‘साथीहरू सबै हिँड्नुस्।’

भिडिओ:

उनी उक्साहटयुक्त भावभंगीमा बोलिरहन्छन्। उनले बोलेको भने प्रस्ट बुझिँदैन।

मञ्चमा रहेकाहरूको जत्था तल ओर्लन्छ र भिड पनि सडकतिर अघि बढ्छ। त्यसपछि मिश्र र राणा देखिँदैनन्। 

तर, उनीहरूको निर्देशन पाएका प्रदर्शनकारी निषेधित क्षेत्र तोड्न अघि बढ्छन्। 

प्रहरीले रोक्छ। तर, मिश्र र राणाको आड पाएका उनीहरू रोकिँदैनन्। बरू प्रहरीमाथि जाइलाग्छन्। ढुंगामुढा गर्न थाल्छन्।

प्रहरी अलर्ट हुन्छ। तर, भिड झन् उग्र हुन थाल्छ। त्यसपछि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहरा प्रहार गरेर भीड तितरवितर पार्न खोज्छ। तर, त्यही बेला प्रसाईँको पिछुवा गाडी प्रहरीलाई किचौँलाझैँ गरेर अघि बढ्छ।

स्थिति नियन्त्रणबाहिर जान खोजेको देखिन्छ।

प्रहरीले रबरका गोली चलाउन थाल्छ। तर, मिश्र र राणा भने त्यसपछि सो क्षेत्रमा देखिदैँनन्। 

तर, प्रदर्शनकारी झन् उग्र बन्दै गए र हिंसात्मक गतिविधिमा उत्रिन थाले।

तीनकुने क्षेत्रका केही सर्वसाधारणको घरमा आगजनी गरे। दर्जन बढी घर तोडफोड गरे। केही व्यापारिक भवनमा लुटपाट मच्चाए।

जडिबुटी प्रशोधन केन्द्रको सन्चो बनाउने कारखानामा आगजनी गरे। ४ वटा गाडी जलाए। 

यस्तै, कोटेश्वरमा प्रहरीको गाडी जलाए। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आगजनी गरे।

नेकपा एकीकृत समाजवादीको आलोकनगरमा रहेको कार्यालयका कागजपत्र नियन्त्रणमा लिएर आगो लगाउनुका साथै घरको सिसा फुटाइएको छ। 

घटनामा २ जनाको ज्यान गएको छ। 

एक जना पत्रकारको प्रदर्शनको दृश्य खिचिरहेकै अवस्थामा प्रदर्शनकारीले लगाएको आगोमा जलेर मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad