भारतमा पक्राउ परेका तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने भएको छ।
दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई केही बेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्याइने जानकारी नेपालखबरलाई दिए।
त्यसका लागि दुर्गाका आफन्त र शुभेच्छुक आज बिहानै मेची पुलमा पुगिसकेका छन्।
त्यसपछि दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी रहेको जानकारी नेपालखबरलाई प्राप्त भएको छ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाईं बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन्।
प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो।
फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए।
प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै आसाम पुगेको थियो।
प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जालसमेत नचलाएर उनी केही समय गुपचुप बसेका थिए।
तर बुधबार उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण 'जोगिएको' बताएका थिए।
यसरी भागेका थिए प्रसाईं
काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको सूचना प्रहरीले घटनाको केही दिनमै पाइसकेको थियो।
प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंकै झापास्थित मेडिकल कलेज बीएन्डसीमा फेला पारेको थियो।
बागमती प्रदेशको बी-ए-बी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ।
काठमाडौँको तीनकुनेस्थित सभास्थलबाट समर्थकलाई उग्र बन्न उक्साएर प्रसाईं एउटा घरको सटरभित्र लुकेका थिए। त्यतिबेला तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो। प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरिरहेको थियो।
उनको कमान्डमा उत्रिएका समर्थकले तीनकुनेका निजी घरमा ढुंगामुढा गरिरहेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रसाईं भने निजी सुरक्षाकर्मी र समर्थकको आडमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँगै गाडीमा चढेर भागेका थिए।
सोही गाडीमा उनीसहित ६ जना काठमाडौँबाट बीपी राजमार्ग हुँदै काकडभिट्टा नाकासम्म पुगेको सूचना प्रहरीले पाएको थियो।
बीएन्डसीमा फेला परेको गाडी र त्यसका चालकलाई प्रहरीले गत साता नै नियन्त्रणमा लिएर काठमाडौँ ल्याइसकेको छ। तर प्रसाईं भने आफ्ना केही सहयोगीसहित भारतमै रहेका थिए।
काठमाडौँबाट काकडभिट्टासम्म जाँदा प्रसाईं चालकभन्दा पछाडिको सिटमा बसेर गएका थिए। काकडभिट्टाबाट आफ्नो गाडी बीएन्डसीमा फर्काएर उनी अर्को गाडीमा भारत गएको पुष्टि भएको छ।
प्रसाईंको खोजी गर्दै यसअघि दुईजना प्रहरी झापास्थित प्रसाईंको घरमा पनि पुगेका थिए। प्रसाईं बीपी राजमार्ग हुँदै भारततर्फ लाग्नु पहिले इमाडोलस्थित खतिवडाको घरमा पुगेका थिए।
त्यहाँ फलफूल र चिया खाएपछि प्रसाईंले धवल शमशेरलाई अन्तिम कल गरेर मोबाइल बन्द गरेका थिए। प्रसाईं भागेपछि तीनकुनेका प्रदर्शनकारीको नेतृत्व राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवल शमशेरले गरेका थिए।
उनीहरूले पनि पछाडि नहट्न भन्दै हिंसात्मक घटनामा अग्रसर हुन प्रदर्शनकारीलाई उक्साएको भिडिओ सार्वजनिक भएका छन्। प्रहरीले चैत १५ गतेको घटनालगत्तै मिश्र र राणासहित कम्तीमा ७० जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
उनीहरूलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ।
Shares

प्रतिक्रिया