समाज


झोलुङ्गे पुल सञ्चालनमा, स्वरोजगार बन्दै स्थानीय

झोलुङ्गे पुल सञ्चालनमा, स्वरोजगार बन्दै स्थानीय

नेपालखबर
चैत २४, २०८१ आइतबार १६:२, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)

सुस्ता गाउँपालिका-५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन्।

एक वर्षअघि यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन्।

यहाँ निर्मित झोलुङ्गे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता-५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताए। 

'यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ। हालसम्म होमस्टे (घरबास)तथा व्यवस्थित सवारी पार्किङस्थल बनाउन सकेका छैनौँ। स्थानीयले स(साना पसल सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन्। यसले स्थानीयको आर्थिकस्तर सुधार हुँदै गएको छ', उनले भने।

वडाध्यक्ष यादवले आन्तरिक तथा छिमेकीमूलुक भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रबाट र न्यून सङ्ख्यामा अन्य मुलुकबाट पर्यटक यहाँ आउन थालेका बताए। 

दैनिकी एक हजार भन्दा बढी पर्यटक झोलुङ्गे पुल अवलोकन आउन थालेका जनाउँदै उनले स्वरोजगार बनेसँगै स्थानीयको दैनिकी फेरिन थालेको उल्लेख गरे। 

सुस्तामा झोलुङ्गे पुल निर्माणपछि यो क्षेत्र थप आकर्षित हुनुका साथै पर्यटकीय गतिविधि चलायमान बन्दै गएको गाउँपालिकाका अध्यक्ष टेकनाराण उपाध्यायले बताए। हाल स-साना पसल सञ्चालनमार्फत स्थानीयले आम्दानी गरिरहेकाले आगामी दिनमा घरबास सञ्चालन गरी पर्यटकलाई बस्न, खान सहज व्यवस्थापनसहित रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना पालिकाले बनाएको उनको भनाइ छ।वलपरासी तराई–मधेस क्षेत्रमा पर्ने भएकाले भारतबाट नेपाल आउने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्ने अध्यक्ष उपाध्यायले बताए। 

पुलको पूर्व र पश्चिमतर्फ मिठाइका परिकार, खाजा तथा चिया पसल, नदीबाट माछा मारेर ताजा परिकार पकाउने स्टल, व्यवस्थित सवारी पार्किङलगायत व्यवस्था गरेर रोजगारीका अवसर थप्दै जाने उनले बताए। 

'झोलुङ्गे पुल निर्माण भएपछि सुस्तासहित आसपासका स्थानीय मोटरसाइकलबाट सहजै नरायणी नदी भएर आवागमन गर्न पाएपछि खुसी भएका छन्। पुल हेर्न आउने पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ', प्रतापपुर गाउँपालिकाका स्थानीय खुरसेद हजामले भने। एक वर्षअघि रु २३ करोड ६५ लाख ९८ हजार ८०७ लागतमा एक हजार ५७१ मिटर लामो उक्त पुल निर्माण भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad