आफूलाई राजावादीको आरोप लागेपछि कलाकार दीपकराज गिरीले व्यंग्यात्मक रुपमा त्यसको खण्डन गरेका छन्। सामाजिक सञ्जालमार्फत् गिरीले आफू मूलतः गणतन्त्रवादी रहेको तथ्य प्रस्तुत गर्दै राजावादी आरोपको खण्डन गरेका हुन्।
दुर्गा प्रसाइँको नेतृत्वमा राजावादी समूहले काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शनको अघिल्लो दिन पत्रकार, कलाकारसहित ३१ जनाको नाम समावेश गरेर राजावादी समूहको आन्दोलनलाई बल पुग्नेगरि अपिल सार्वजनिक भएको थियो।
त्यो अपिलमा कलाकार गिरीसँगै एभिन्युज टीभीका मालिक भाष्करराज राजकर्णिकार, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू कुशकुमार जोशी, भवानी राणा, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, पत्रकारहरू युवराज घिमिरे, टीकाराम यात्री, जीवराम भण्डारी, अधिवक्ता स्वागत नेपालसहितको नाम थियो।
हस्ताक्षरविनै सार्वजनिक भएको त्यो अपिलमा राजावादीको प्रदर्शनमा कुनै अप्रिय घटना भएमा सरकार जिम्मेवार हुने उल्लेख थियो। तर, राजावादीले तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यो अपिलमा नाम भएकाहरुको सर्वत्र आलोचना भइरहेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अपिल सार्वजनिक गर्नेहरू पनि राजवादी समूहको हिँसात्मक प्रदर्शनका भागिदार भएका र उनीहरुलाई पनि सरकारले कारबाही गर्नुपर्ने आवाज उठ्न थालेपछि केहीले त्यो अपिलमा आफ्नो समर्थन नरहेको प्रष्टिकरण दिइरहेका छन्।
यसअघि पत्रकार टिकाराम यात्रीले पनि उक्त वक्तव्यप्रति असहमति व्यक्त गरिसकेका छन्। यात्रीले शनिबार भिडियो सार्वजनिक गर्दै आफू कार्यक्रममा सहभागी भएको तर, त्यो अपिलको बेहोराप्रति असहमति जनाएका छन्।
आज कलाकार दीपकराज गिरीले पनि व्यंग्यात्मक रुपमा आफूमाथिको आरोपको खण्डन गरेका छन्। उनले आफूले अहिलेसम्म गणतन्त्रवादीहरुलाई मात्रै समर्थन गर्दै आएको भन्दै गिरीले कुनै राजा महाराजलाई होइन, वर्तमान व्यवस्थाका पक्षधर दल र तिनका नेतालाई नै आफूले मान्दै आएको र मानिरहने भन्दै स्पष्टीकरण दिएका छन्।
तर, गिरीले वर्तमान शासकहरुको काम गर्ने शैलीले जनतामा आक्रोस सिर्जना गरेको भन्दै त्यसलाई सच्याउनुपर्नेमा पनि जोड दिएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नयाँ विचार, नयाँ मान्छे आउने बित्तिकै यहाँ गणतन्त्रलाई पखाला चल्न थाल्छ, प्रजातन्त्र नै खतरामा पर्छ! यहाँ शासन व्यवस्था संचालन गर्ने शैली राम्रो भएन भन्यो कि त्यो मान्छे गणतन्त्र बिरोधी हुन्छ कि त राजाबादी हुन्छ! तपाईँहरुको अस्वस्थ प्रतिस्पर्धा ले नै हो जनतामा नैराश्यता आएको। यहाँ पुराना राजाको डिमान्ड बढाएको तपाईँकै शासन शैलीले हो!’
उनले वर्तमान व्यवस्थाका पक्षधर दलहरुलाई राम्ररी सत्ता सञ्चालन गर्न सुझाव दिँदै भनेका छन्, ‘तपाईँहरूले नै राम्रोसँग राजकाज चलाउनुस तपाईँहरूलाई नै राजा मानिरहेकै छू र मानिरहन पाउँ र सधै राजाबादी भैरहन पाऊँ।’

Shares

प्रतिक्रिया