देशभरका कोरोना संक्रमण आशंकित व्यक्तिको नमुना परीक्षण गर्ने एक मात्र थलो काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक रिपोर्ट सार्वजनिक गर्ने गरेको छ।
यसै क्रममा आज शनिबार पनि प्रयोगशालाले कोरोना परीक्षणको परिणाम सार्वजनिक गरेको छ।
तीमध्ये एक जनामा कोरोना भाइरस पोजेटिभ पाइएको प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्।
तर आज जम्मा कतिवटा नजिता सार्वजनिक भएका हुन् त?
‘आज हामीले १२ वटा नमुना परीक्षणको रिपोर्ट सार्वजनिक गरेका हौं,’ शनिबार साँझ निर्देशक झाले नेपालखबरसँग भनिन्, ‘तीमध्ये एउटा कोरोना भाइरस पोजेटिभ र ११ वटा नेगेटिभ आएका हुन्।’
योसमेत गरेर नेपालमा अहिलेसम्म ८७५ जनाको स्वाब परीक्षण भइसकेको छ। जसमध्ये आजको समेत गरेर नेपालमा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनका अनुसार पुनः भोलि आइतबारका लागि कोरोना परीक्षणको नतिजा प्रकाशन गर्ने तयारी भइरहेको छ। ‘यो त नियमित काम हो,’ निर्देशक झाले भनिन्, ‘दैनिक नमुना परीक्षण र नतिजा प्रकाशन चलिरहनेछ।’
याे पनि :
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो: स्वास्थ्य मन्त्रालय
प्रतिक्रिया