भक्तपुर नगरपालिका क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको व्यापक उल्लंघन भएको छ। विशेषगरी बिहान र अपराह्नदेखि बजार क्षेत्रमा मानिसको बाक्लो भिड लाग्ने गरेको छ।
नगरपालिकाले खाद्यान्न, तरकारी एवम् अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र हरेकदिन बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म समय निर्धारण गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा बजार व्यबस्थापन गरेको छ।
भाइरस सङ्क्रमण नहोस् भनेर नगरपालिकाले बाहिर निस्कँदा तोकिएको स्थानमा अर्को व्यक्तिसँग एक मिटरको दूरी कायम गरी सामान खरिद गर्न आह्वान गरेको र नगरपालिकाले एक मिटरको दूरी कायम गर्ने गरी चूनले पसल र मानिस उभिने ठाउँको रेखाङ्कन गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए।
नगरपालिकाले यस्तो व्यवस्था गरे पनि स्थानीय बासिन्दाले भने त्यसको अटेर गर्दै बजारमा भिड गर्ने गरेका छन्। कमलविनायकका बासिन्दा विकल श्रेष्ठले बिहानैदेखि कमलविनायकको गणेश मन्दिरमा घुम्न आउनेले दर्शन गर्ने घण्टा बजाउने गरेको बताउदै संक्रमित व्यक्तिले घण्टा बजाए धेरैमा संक्रमण फैलिने बताए।
कमलपोखरीमा बिहानैदेखि मर्निङवाक गर्न आउने उत्तिकै बाक्लो हुने गरेको उनले जानकारी दिए। भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिड्ने बाक्लै हुने गरेको स्थानीयको भनाइ छ। नगरपालिकाले भने आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन माइकिङ गरेको र नगरपालिका क्षेत्रका बाराहीस्थान, गःपली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलबिनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, व्यासीदेखि कमलबिनायकसम्मको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकलगायतका क्षेत्रमा कीटनाशक ‘स्प्रे’ छरेको छ। रासस

प्रतिक्रिया