नेपालमा कोरोना भाइरसकाे संक्रमण छ कि भनेर नमुना (र्याल) परीक्षण गर्ने/गराउने क्रम दैनिक जारी छ। अहिलेसम्म यस्ताे जाँच गराउने बिरामीको संख्या ८ सय नाघिसकेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणकाे जाँच काठमाडैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्रै हुन्छ।
प्रयाेगशालाका अनुसार यसका लागि शुक्रबार साँझसम्म ८ सय २ जनाको नमुना (र्याल) परीक्षण गरिएको छ। तीमध्ये ४ जनामा मात्रै संक्रमण पाइएको छ।
परीक्षण गर्ने क्रम दैनिक भइरहेको प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्।
‘काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट दैनिक नमुना आउने क्रम जारी छ, शनिबार बिहान निर्देशक डा. झाले नेपालखबरसँग भनिन्, ‘आज पनि हामी केही रिपोर्ट सार्वजनिक गर्दै छौं।’
तर अहिले नै यति जना भनेर तोक्दा मानिस आतंकित हुने भएकाले सार्वजनिक गरिएपछि मात्रै जानकारी गराइने उनले बताइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिले दिनमा ८० देखि १०० जनासम्मले कोरोना संक्रमण आशंकामा नमुना परीक्षण गराउने गरेका छन्।
‘मलाई पनि आज कति जनाको रिपोर्ट सार्वजनिक हुन्छ भन्ने थाहा छैन,’ प्रवक्ता देवकोटाले शनिबार बिहान नेपालखबरसँग भने, ‘दिउँसो ४ बजे लाइभका लागि अस्पताल (टेकु)ले बोलाउँछ, त्यही बेला मात्रै थाहा हुन्छ।’
अहिले टेकु प्रयोगशालमा मात्रै कोरोना परीक्षणको व्यवस्था भएकाले काठमाडौं उपत्यकाबाहिरका अस्पतालमा आएका बिरामीमा कोरोना संक्रमणको आशंका देखियो भने उनीहरूको नमुना टेकुमै पठाइन्छ।
जसरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक बिरामीको नमुना परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो। रिपोर्ट आउँदा कोरोना भाइरस पाइएपछि अहिले उनी नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति बनेका छन्।
यसअघि दुई युवक र एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। तीमध्ये सुरुमा जाँच गराएका चीनबाट फर्किएका संक्रमित भने उपचारपछि स्वस्थ भइसकेका छन् भने बाँकी २ जनाको टेकुकै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ। माथि उल्लिखित चौथा संक्रमितको भने धनगढीमै उपचार जारी छ।
टेकुमा उपचाररत १९ वर्षीया युवती फ्रान्सबाट फर्किएकी छात्रा हुन् भने ३२ वर्षीय युवक साउदीबाट फर्किएका कामदार हुन्। यसैगरी धनगढीमा उपचाररत ३४ वर्षीय पुरुष पनि साउदीबाटै फर्किएका हुन्।
खासगरी विदेशबाट फर्किएकाहरूमा कोरोना भाइसर देखिएकाले बाहिरी देशबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टिन अर्थात् अन्यको सम्पर्कबाट अलग्गै बस्न सरकारले भनिररहेको छ।
चिकित्सकका अनुसार कसैमा कोरोना भाइरस भए त्यसको लक्षण १४ दिनभित्रमा देखिन्छ।

प्रतिक्रिया