समाज


चौथा संक्रमित दुबईबाट धनगढी पुग्दा चढेका थिए ३ विमान र १ बस

चौथा संक्रमित दुबईबाट धनगढी पुग्दा चढेका थिए ३ विमान र १ बस

मणि दाहाल/गोकुल जोशी
चैत १५, २०७६ शनिबार ३:१८,

काठमाडौं उपत्यकाबाहिर पहिलोपटक कैलालीको धनगढीमा भेटिएका नेपालका चौथा कोरोना संक्रमित व्यक्ति धेरै जनासँग सम्पर्कमा पुगेको पाइएको छ।

स्रोतका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट विमानमार्फत भारतको दिल्ली हुँदै ती व्यक्ति यही चैत ७ गते नेपाल आइपुगेका हुन्।

उनले दुबईबाट दिल्लीसम्म फ्लाई दुबईको ईके ०१५० नम्बरको जहाज प्रयोग गरेका थिए। दिल्लीबाट भिस्तरा एयर चढेर उनी चैत ७ गते साँझ ५ बजे काठमाडौं आइपुगेका थिए।भिस्तारले दैनिक एक उडान मात्रै गर्छ।

नेपाल आएको दिन संक्रमित ती व्यक्ति काठमाडौंमा आफन्तसँग बसेको स्रोतले जनाएको छ। त्यसको १ दिनपछि अर्थात् चैत ८ गते संक्रमित व्यक्ति मध्याह्न १२ बजे बुद्ध एयरको जहाजबाट नेपालगञ्ज गएका थिए।

नेपालगञ्जबाट उनी धनगढी सार्वजनिक बस चढेर गएका थिए। घरमै रहँदा स्वास्थ्यमा समस्या देखिएपछि चैत ११ गते उनी सेती प्रादेशिक अस्पताल धनगढीमा बिहान ११ बजे भर्ना भएका थिए।

त्यसलगत्तै परीक्षणका लागि उनको नमुना काठमाडौं पठाइएको थियो। नतिजामा उनी संक्रमित भएकाे पाइएपछि शुक्रबार पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।

संक्रमितसँग सम्पर्क गरेका व्यक्तिबारे निगरानी सुरु
कैलाली प्रशासनले ती संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूकाे निगरानी थालेकाे छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार घर धनगढी पुगेपछि अस्पताल भर्ना हुँदासम्म उनकाे सम्पर्कमा आएकाहरूको निगरानी थालिएकाे हाे। 

‘संक्रमित व्यक्ति घर पुगेपछि उनको सम्पर्कमा आएकाहरूकाे निगरानी सुरु भएको छ, कोही सम्पर्कमा पनि आइसकेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले नेपालखबरसँग भने, ‘उनसँग भेटघाट गरेकाहरूलाई सम्पर्कमा आउन आग्रह गरेका छाै‌ँ।’

दुबईबाट धनगढी पुगेका कोरोना संक्रमित पुरुषसँग ३ दिनको अवधिमा सम्पर्कमा आएका सबैको खोजी थालिएको कैलाली जिल्ला प्रशासनले जानकारी दिएकाे छ। 

ती संक्रमित पुरुषको परिवारका सदस्यहरूकाे पनि निगरानी गरिएकाे छ। ‘घरपरिवार, अस्पताल भर्ना गराउनेलगायत ३ दिनको अवधिमा उनकाे सम्पर्कमा आएका व्यक्तिहरूबारे निगरानी राखिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने।

कोरोना भाइरस संक्रमण पुष्टि भएका धनगढीका ती व्यक्तिको परिवारका सदस्यहरूको परीक्षणाका लागि नमुना संकलन गर्ने तयारी भइरहेको सेती प्रादेशिक अस्पताले जनाएको छ।

‘संक्रमण फैलिन नदिन प्रमुख रूपमा परिवारका सदस्यलाई निगरानीमा राखिएको छ। उननीहरूलाई अहिले अस्पताल ल्याएर संक्रमण जाँचका लागि नमुना दिने तयारी भएको छ,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. जगदीश जोशीले भने।

कोरोना भाइरस संक्रमित व्यक्तिको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

 यसअघि नेपालमा दुई पुरुष र एक महिलालाई काेराेना भइसकेकाे छ। सुरुका एक पुरुष उपचारपछि स्वस्थ भइसकेका छन् भने एक युवती र युवककाे टेकु अस्पतालमा उपचार भइरहेकाे छ। 

त्यसपछि संक्रमित भेटिएका उल्लिखित चाैथा व्यक्तिकाे भने धनगढीमै उपचार भइरहेकाे हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .