सोलुखुम्बुको लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धारका लागि आज आन्तरिकतर्फ नौ वटा उद्धार उडान हुँदैछन्।
विगत तीन दिनयता दिनहुँजसो त्यस्ता उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
चैत १२ र १३ गते बुद्धएयर र यती एयरको भगिनी संस्था तारा एयरबाट उद्धार गरिएका युरोपेली मुलुकका नागरिकलाई शुक्रबार कतार एयरको चार्टर्ड जहाजले सम्बन्धित गन्तव्यतर्फ लगेको थियो।
आज पनि कतारको दोहाका लागि दुई उडान क्रमशः बिहान सबा १० र ११ बजे निर्धारण गरिएको विमानस्थलले जनाएको छ।
लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धारका लागि निगमका पाँच, तारा एयरको तीन र समिट एयरको एक उडान हुनेछ।
त्यसका लागि केही ट्वीनअटर जहाज लुक्ला उडिसकेका छन्। निगमको वाइ–१२ जहाजले पनि आज काठमाडौँ–नेपालगञ्ज उडान भर्नेछ।
यो जहाजले कोभिडका शङ्कास्पद बिरामीबाट सङ्कलन गरिएको खकारको नमूना लिएर काठमाडौँ फर्कने बताइएको छ। रासस

प्रतिक्रिया