समाज


पाँच महिनासम्म तलब नपाएका महानगरका शिक्षकले बालेनलाई भने: भाडा तिर्न र औषधि किन्न पनि सकिएन

पाँच महिनासम्म तलब नपाएका महानगरका शिक्षकले बालेनलाई भने: भाडा तिर्न र औषधि किन्न पनि सकिएन

नेपालखबर
चैत १३, २०८१ बुधबार १२:४१, काठमाडौँ

पाँच महिनादेखि तलब नपाएको भन्दै काठमाडौँ महानगरपालिकाका शिक्षकले मेयर बालेन्द्र शाह (बालेन)लाई पत्र बुझाएका छन्।  मंगलबार बिहान नेपाल शिक्षक महासंघ महानगर समितिले महानगरलाई ध्याकर्षण पत्र बुझाउँदै समयमै तलब नपाउँदा समस्या भएको बताएका हुन्। 

झन्डै तीन महिनादेखि काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा काठमाडौँ महानगरपालिकाअन्तर्गतका कर्मचारीहरूले तलब पाउन सकेका छैनन्। शिक्षकहरू शिक्षा विभाग प्रमुखमार्फत मेयर बालेनलाई पत्र बुझाएका हुन्।  

तीन महिनादेखि नै महानगरका मेयर बालेन, उपमेयर सुनिता डंगोलसहित तीन हजार ६०० कर्मचारीले तलब पाएका छैनन्। यी मध्ये ७०० बढी शिक्षक रहेको बताइएको छ।  

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विवादका कारण कर्मचारीले तलब नपाएका हुन्।  

'काठमाडौं महानगरपालिका शिक्षा विभागबाट विद्यालयहरूमा तलब निकासा नहुँदा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले पाँच महिनादेखि तलब पाउन सकेका छैनन्'  शिक्षकहरूले महानगरलाई बुझाएको पत्रमा भनिएको छ।

तलब नपाउँदा कोठा भाडा तिर्न, औषधि उपचार गर्न, दैनिक उपभोग्य सामान खरिद गर्न समस्या भएको गुनासो शिक्षकहरूले महानगरसमक्ष गरेका छन्। 

'लामो समयदेखि तलब नपाउँदा शिक्षकहरू कोठा भाडा तिर्न नसकेर, दैनिक उपभोग्य अत्यावश्यक सामग्री खरिद गर्न नसकेर, नियमित औषधि उपचार गर्न नपाएर समस्यामा पर्नुभएको छ' पत्रमा लेखिएको छ। 
 
विद्यालयको दैनिक प्रशासन सञ्चालनमा असर पुगेकाले सम्पूर्ण भुक्तानी गर्ने व्यवस्था मिलादिन शिक्षकहरूले आग्रह गरेका छन्। उनीहरूले उपमेयर सुनिता डंगोलको पनि ध्यानाकर्षण गराएका छन्।

पुस ८ देखि १७ सम्म बिदामा रहेका गुरागाईंमाथि छानबिन समिति गठन भएकाले कार्यालय नआउन भन्दै महानगरले अनौपचारिक जानकारी गराएको थियो। बिदा सकिएपछि गुरागाईं कार्यालय हाजिर हुन खोज्दा महानगरले उनको कार्यकक्षमा ताला लगाइदिएको थियो।

गुरागाईंले निमित्त कार्यकारीको जिम्मेवारी शिक्षा विभागका प्रमुख गोविन्दप्रसाद शर्मालाई दिएका थिए। तर, शर्माले पारिवारिक कारण देखाउँदै राजीनामा दिए।

हाल महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नुरनिधि न्यौपाने छन्। न्यौपानेलाई आर्थिक अधिकार दिन बालेनले मन्त्रालयलाई अनुरोध गर्दै पत्र पठाउँदा पनि सरकारले अनुमति दिएको छैन। सरकारले गुरागाईंलाई नै प्रमुख कार्यकारी अधिकृत बनाउन आग्रह गर्दै आएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad