सरकारले लकडाउन गरेको आज तेश्रो दिन। नागरिकलाई अत्यावश्यक काम बाहेक सडकमा नआउन भनिएको छ। घरभित्र बस्नु भनेका सर्वसाधारणलाई रोक्न प्रहरीलाई हम्मे छ।
अत्यावश्यक कामबिना पनि छिटफुट मात्रामा सर्वसाधारण सडकमा निस्किरहेका छन्। तर उनीहरुकै सुरक्षाका लागि खटिएका प्रहरी भने बिनामास्क सडकमा छन्।
कसैसँग कपडाको मास्क छ, पन्जा छैन। ड्युटीका प्रहरीलाई सेनिटाइजर समेत छैन।
प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशी भन्छन्, ‘हामीसँग जे छ त्यो अपनाएका छौं। तर यो हाम्रा लागि पनि नयाँ विपत भएकाले सबै कुरामा सचेत हुन सकिएको छैन।’
हुन त कोरोना संक्रमितको उपचारमै खटिने स्वास्थ्यकर्मीले समेत आवश्यक सुरक्षाका सामाग्री नभएको गुनासो गरिरहेकै छन्। त्यो अर्को पाटो भयो। तर भीड रोक्न उत्रिने सुरक्षाकर्मीको भने सुरुवात नै भीडबाट हुन्छ।
बिहान ड्युटीमा जाँदा होस् या बेलुका ड्युटीबाट फर्किंदा उनीहरु २५/३० जना एउटै गाडीमा फर्किन्छन्। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवाली भन्छन्, ‘काठमाडौंको वाध्यता।
प्रहरीलाई पनि हात धुन, सेनिटाइजरको प्रयोग गर्न र भीडभाडमा नजान भनिएको छ। तर यो सम्भव नै छैन। जहाँ भीड हुन्छ, त्यहाँ पुग्नैपर्छ। ‘अटेर नागरिकलाई परबाट सम्झाउँदा मात्रै पनि हुँदैन,’
त्यसो त ड्युटीमा खटिने प्रहरीको आफ्नै पीडा छ। सम्झाउँदा नमान्ने, थर्काउँदा मानव अधिकार हनन् गरेको आरोप लाग्ने।
ड्युटीमा रहेका एक जवानले भने, ‘हामीले नरम बोलेको त सुनेको नसुनै गर्छन्, थर्काउँ आफ्नै जागिर धरापमा।’
लकडाउन उल्लंघन गर्नेलाई हिरासतमा भीड हुन्छ भनेर पक्राउ समेत गरिएको छैन। प्रहरीले सवारीसाधान नियन्त्रणमा लिएर छाडेको छ। जरिवाना समेत केही ठाउँमा मात्रै गरिएको छ। तर लकडाउन उल्लंघन गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ।
प्रहरीलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका उपकरणका सामाग्रीको सूची प्रहरी अस्पताललाई बनाउन भनिएको छ। सूचि नै बनाइ नसकेको प्रहरीले यी सामाग्री कहिले पाउने हो त्यो परको कुरा।
नेपाल प्रहरी अस्पतालमा पनि आइसोलेसन वार्ड र क्वारेन्टिन निर्माणको काम भइरहेको छ। न्युनतम उपाय अपनाउन भनिएको छ भने, प्रहरी कार्यालय प्रवेश गर्ने बेलामा ज्वरो जाँच्न थालिएको छ।अहिलेसम्म प्रहरीमा संक्रमणको लक्षण नदेखिएको प्रवक्ता जोशीले बताए।
‘प्रहरी कसरी खटिरहेको छ भन्ने तपाईहरुले सडकमा देखिरहनु भएकै छ। हरेक अप्ठेरोमा जाने पहिलो टोली हामी पनि हो,’ प्रवक्ता जोशी भन्छन्, ‘जोखिम छ, तपाईहरुले पनि बुझ्नु भएकै छ, यहाँहरुबाट जति सहयोग हुन्छ त्यति नै प्रहरी सुरक्षित हुन्छ, त्यो सहयोग भनेको लकडाउन पालना गरिदिनु नै हो।’
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेल फौजीको जागिर नै यस्तै भएको बताउँछन्।
पोख्रेल भन्छन्, ‘हामी भनेको समूहमा खाने, समूहमा बस्ने र समूहमै ड्यूटी गर्ने हो। यो भनेकै हामी स्वस्थ छौं भन्ने हो, कसैलाई समस्या आयो भने तुरुन्त चेकजाँच गराउँछौं।’
संक्रमण फैलँदै गए उद्धारमा खट्नका लागि भने सामाग्री पर्याप्त नरहेको र सीमित संख्यामा मात्रै प्रहरी खट्न सक्ने अवस्था रहेको डीआईजी पोख्रेलको भनाई छ।

प्रतिक्रिया