समाज


दाइ काभ्रे र भाइ गुल्मीको जेलमा, काठमाडौँमा पक्राउ परे बुद्धिमान

२० वर्षदेखि शृंखलाबद्ध डकैती र लुटपाटको आरोप
दाइ काभ्रे र भाइ गुल्मीको जेलमा, काठमाडौँमा पक्राउ परे बुद्धिमान

उजिर कार्की
चैत १, २०८१ शुक्रबार १८:२८, काठमाडौँ

शृंखलावद्ध रुपमा हत्या, डकैती र लुटपाटका अभियुक्त बुद्धिमान तामाङ २० वर्षपछि पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ घर भएका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षका बुद्धिमान तामाङलाई शुक्रबार पक्राउ गरेको हो।

उनलाई ललितपुरको लगनखेलबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी सुधिरराज शाहीले जानकारी दिए। 

बुद्धिमानका दाजु र भाइ भने यसअघि नै थुनामा पुगिसकेका छन्। बुद्धिमानका दाइ वीरबहादुर काभ्रेपलान्चोकमा थुनामा छन्। भाइ शिवकुमार गुल्मी कारागारमा छन्। 

बुद्धिमानसँगै लुटपाट गर्न जाँदा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। बुद्धिमानका दाजु र भाइ पनि लुटपाट र हत्यामा समेत संलग्न रहेको आरोप प्रहरीको छ।

बुद्धिमानलाई ललितपुरको लगनखेलबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए। उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा २०६१ चैत ६ गते डलर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। तर उनी फरार थिए।

यस्तै जिल्ला प्रहरी परिसर ललितपुरले २०६२ फागुन २२ गते डाँका चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो। अदालतले तोकेको ६ वर्ष सजाय भुक्तान गरेका थिए।

सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय बाह्रबिसेमा २०७८ माघ १२ गते शान्ति सुव्यवस्था तथा नैतिकताविरूद्धको कसुरमा मुद्दा चलाइएको थियो। उक्त सजाय पनि भुक्तानी गरेका थिए।

भाइ जेल गएको २ वर्षपछि दाजु पनि पुगे जेलमा
२०७९ माघ १४ गते गुल्मीको मुसिकोट नगरपालिका ७ न्वारामा एक महिलाको लुटपाटपछि हत्या भएको थियो। घटनामा बुद्धिमान र उनका सहोदर कान्छो भाइ चमेरे भन्ने शिवकुमार तामाङको संलग्नता रहेको अभियोग छ। सोही अभियोगमा बुद्धिमानका भाइ शिवकुमार भने पुर्पक्षका लागि कारागार चलान भएका छन्।

भाइ जेलमा परेको २ वर्षपछि बुद्धिमान पनि पक्राउ परेका हुन्। तर बुद्धिमानलााईं भने सुरुमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाइएको छ। त्यहाँ पनि उनीविरुद्ध मुद्दा रहेकाले पठाइएको एसपी शाहीले बताए।

राति साढे ११ बजे बाग्लुङको बडिगाड गाउँपालिका ३ सिसाखानी घर भई हाल मुसिकोट नगरपालिका ७ न्वारामा घर भाडामा लिएर होटल सञ्चालन गरिरहेकी गंगा भन्ने गोपाल कुमारी शेरचनकोा हत्या भएको थियो।

उनले गंगा नामको होटल संञ्चालन गरिरहेकी थिइन्। ५८ वर्षकी गंगा भन्ने गोपाल कुमारी शेरचनलाई होटलमै हात, खुट्टा र मुखमा टेपले बाँधेर गर–गहना र नगद लुटिसकेपछि हत्या गरेर फरार भएको अभियोग उनीहरूलाई छ।

शृंखलावद्ध डकैती र लुटपाटमा दाइ पनि
बुद्धिमानविरुद्ध विभिन्न ठाउँमा शृंखलावद्ध डकैती र लुटपाट गरेको आरोप छ। काभ्रेपलाञ्चोकको फस्कोटमा एक महिलालाई धारिलो हतियार प्रहार गरी लुटपाट गरेको आरोप छ।

२०७९ कात्तिक २७ गते साँझ ७ बजे धुलिखेल नगरपालिका ९ फस्कोटमा बेली तामाङ आफ्नो घरमा बसिरहेको अवस्थामा भोटमाग्न आएका मानिसहरू हौं भनि घर भित्र प्रवेश गरेका थिए।

बुद्धिमान तामाङसहित ४ जनाले भित्र कोठामा पसेर बेलीलाई धारिलो हतियारले प्रहार गरेर डोरीले बाँधी नगद, गहना समेत डाँका गरेको अभियोग छ।

काभ्रेपलाञ्चोककै चौकोटमा २०८१ साउन ३१ गते राती करिव १२ बजे एउटा होटलमा लुटपाट गरेको आरोप छ। पनौती नगरपालिका ५ चौकोटस्थित ग्रिन हिल नेवा खाजा तथा खाना घरमा बुद्धिमानसहित तीन जना कालो नकाप लगाइ प्रवेश गरेको प्रहरीको दाबी छ।

उक्त होटल संचालक धर्म गोपाल श्रेष्ठलाई धारीलो हतियार देखाइ ४० हजार रुपैयाँ लुटपाट गरेको आरोप छ। उनका सहोदर दाइ वीरबहादुर तामाङसहित ३ जनाको संलग्नता रहेको प्रहरीको दाबी छ।

काभ्रेपलाञ्चोककै टनचोकमा पनि उनी समेतको संलग्नतामाा लुटपाट गरेको आरोप छ। २०८१ साउन ४ गते  राती १२ बजेतिर बनेपा नगरपालिका ३ टनचोक डाँडामा ३२ वर्षका लोप्चन लामाको घरमा बुद्धिमानसहित ४ जनाले लुटपाट गरेको आरोप छ।

मुखमा माक्स लगाएर गएका व्यक्तिहरू घरभित्र प्रवेश गरी धारिलो हतियार देखाएर मोबाइल, नगद र गरगहना लुटपाट गरेको आरोप छ। घटनामा उनका दाइ वीरबहादुर तामाङसहित ४ जनाको संलग्नता रहेको प्रहरीको आरोप छ।

काभ्रेपलाञ्चोकको रेडक्रस टोलमा पनि लुटपाट गरेको आरोप उनीमाथि छ। २०८१ माघ १३ गते राती १ बजेको समयमा बनेपा नगरपालिका ४ रेडक्रस टोलका सुकान्त बम्जनको घरमा माक्स लगाएर प्रवेश गरेका उनी र उनका दाइ वीरबहादुरसहित ४ जनाले लुलपाट गरेको आरोप छ। 

धारिलो हतियार देखाइ सुनको गरगहना तथा नगद धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ। लुटपाटको आरोपमा बुद्धिमानका लाइ वीरबहादुर, उदयपुरको कटारीका राजुकुमार दनुवार र ओखलढुङगाको खिजिफलाटेका बर्मेली राजेश भन्ने महेश कुमार खड्कालाई बिभिन्न मितिमा प्रहरीले पक्राउ गरिसकेको छ। 

वीरबहादुर जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, राजुकुमार दनुवार र बर्मेली राजेश भन्ने महेशकुमार खड्कालाई ईलाका प्रहरी कार्यालय बनेपामा पठाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad