नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आज ललितपुरको महालक्ष्मीमा लागु औषध न्यूनीकरणमा पत्रकारको भूमिकाका सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ।
गोदावरी नगरपालिका–३ सँगको सहकार्यमा आयोजित कार्यक्रममा लागु औषधको प्रयोग न्यूनीकरणमा पत्रकारको भूमिकाको सम्बन्धमा छलफल भएको छ।
कार्यक्रममा गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व महासचिव रोसन पुरी लगायतले प्रस्तुतिकरण गरेका छन्।
पछिल्लो समय नेपालमा लागु औषधबाट युवा समुदाय बढी प्रताडित भएको चर्चा गर्दै वक्ताहरुले उनीहरुमा सचेतना फैलाउन सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा वडाध्यक्ष घिमिरेले आफ्नो वडामा लागु औषध नियन्त्रणको अभियान समेत चलाएको जानकारी दिए। उनले धेरै युवा वितृष्णको कारण लागु औषधमा फसेको बताए।
‘लागु औषधले कसरी असर पारेको छ, युवाहरुलाई यसको दुव्र्यसनबाट कसरी मुक्त गर्न सकिन्छ भन्नेबारेमा सञ्चारकर्मी र सञ्चारमाध्यमले विचार विमर्श गर्न जरुरी छ,’ उनले भने, ‘हाम्रो वडामा लागु औषध सेवन रोक्न सचेतनाका अभियान गरिरहेका छौँ। प्रहरीसँगको समन्वयमा पनि कार्यक्रम भएका छन्। लागु औषध न्यूनीकरण गरे समाज व्यवस्थित बन्न सक्छ। युवाहरुबाट देश निर्माणमा टेवा पुग्छ।’
कार्यक्रमको दोस्रो सत्रमा महासंघका निवर्तमान महासचिव पुरीले विज्ञका रुपमा प्रस्तुति दिएका थिए। उनले लागु औषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रणमा सञ्चार माध्यम चनाखो बन्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पछिल्लो समय जारी गरेको पत्रकार आचारसंहितामा पनि लागू औषधलगायत जनस्वास्थ र समाजमा प्रतिकूल असर पर्ने समाचार सामग्री सम्प्रेषण गर्न नहुने उल्लेख छ। तर पत्रकार महासंघको वर्तमान केन्द्रिय समितिले यसबारेमा पत्रकारलाई जिम्मेवार बनाउने गरी काम गर्न नसकेको आरोप पुरीले लगाए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका पत्रकारलाई लागु औषध सम्बन्धी रिपोर्टिङ गर्दा यस्ता कार्यक्रमबाट सहयोग पुग्ने बताए।
‘सञ्चारकर्मीले पनि लागु औषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्,’ कार्कीले भने, ‘यस बारेमा ध्यान नदिँदा नकारात्मक सन्देश पनि प्रवाह हुन सक्छ।’ तालिममा ९० जनाभन्दा धेरै सञ्चारकर्मीको सहभागिता थियो।
Shares

प्रतिक्रिया