ad ad

समाज


विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटी क्वारेन्टिनमा

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटी क्वारेन्टिनमा

नेपालखबर
चैत १३, २०७६ बिहिबार ६:२४,

चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टिनमा २३ नेपाली नागरिक थपिएका छन्।

भारतका विभिन्न ठाउँबाट आएका ती नेपालीलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन पु¥याएको हो।

अहिले विभिन्न देशबाट नेपाल फर्किएका ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए। सरकारले गत चैत ८ गते दुबई, कतारलगायत विभिन्न देश हुँदै थाई एयरवेजबाट फर्किएका ४९ र एयर इन्डियाबाट आएका १३ गरी ६२ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटीस्थित क्वारेन्टिन पु¥याइएको थियो। त्यसपछि १० र ११ गते विभिन्न देशबाट फर्किएका थप ११ जनालाई खरिपाटी क्वारेन्टाइन ल्याइएको थियो।

त्यहाँ नियमित ज्वरो जाँच भइरहेको छ। दुईजना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँचजनाको टोली सेवामा खटिएका छन्। कोरोना सङ्क्रमणको आशंका देखिए अस्पताल लैजान एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा छ।

सबैलाई कम्तीमा १४ दिन क्वारेन्टिनमा राखिने छ। त्यस बीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लगिने जनाइएको छ।

आफ्नै इच्छाले देश फर्किएका उनीहरु क्वारेन्टिनमा रहँदाको खर्च आफैँले गर्ने छन्। प्राधिकरणको क्यारेन्टिनबाट खाना प्याकिङ गरी उनीहरुलाई पठाउने गरिएको छ भने क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको सबै व्यवस्थापन गरिएको छ। क्वारेन्टिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ।

त्यसैगरी सरकारले नगरकोटका होटललाई कम्तीमा ५०० जना क्षमताको क्वारेन्टिन बनाउने तयारी गरेको छ। आवश्यकता पर्दा यसलाई थप गर्दै लैजाने भएको छ भने चाँगुनारायणको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजको होस्टेल भवनलाई भेन्टिलेटरसहितको आइसियु रहेको कम्तीमा ४० शय्याको आइसोलेसन वार्ड तयार पार्ने भएको छ। यसका लागि अनुगमन गरेर आवश्यक तयारी गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आवश्यक तयारी गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .