ad ad

समाज


प्रदेश २ मा कोरोना आशंकाका बिरामीको पीडाः अस्पतालले लिएनन् भर्ना

प्रदेश २ मा कोरोना आशंकाका बिरामीको पीडाः अस्पतालले लिएनन् भर्ना

शैलेन्द्र महतो
चैत १३, २०७६ बिहिबार ६:५,

करिब एक साता अघि दुबईबाट फर्केका सिरहाको औरही गाउँपालिकाका ४० वर्षीय पुरुषलाई मंगलबार अचानक ज्वरो आयो।

कोरोना संक्रमणको आशंकामा उपचार गराउन भन्दै उनलाई धनुषाको रमदैया स्थित जानकी मेडिकल शिक्षण अस्पताल लगियो।

कोरोना संक्रमित तथा शंकास्पद बिरामीलाई राखेर उपचार गर्न प्रदेश २ स्वास्थ्य निर्देशनालयले ४० बेडको आइसोलेशन वार्ड स्थापना गरेको छ। तर त्यहाँ पुग्दा ती बिरामीलाई अस्पतालले उपचारको व्यवस्था नरहेको भन्दै त्यहाँको प्रशासनले एम्बुलेन्सबाट ओर्लिन समेत दिइएन।

केहीबेर उनी त्यहीँ पर्खिबसे। पछि अस्पताल प्रशासनले ती बिरामीलाई प्रादेशिक अस्पताल जनकपुर पठाए।

प्रादेशिक अस्पताल जनकपुरमा पनि कोरोना भाइरस संक्रमित तथा शंकास्पद बिरामीलाई उपचार गर्न पाँच बेडको आइसोलेशन वार्ड तयार गरिएको छ।

दिउँसो ३ बजे ती बिरामी प्रादेशिक अस्पताल पुगे। कोरोना भाइरस संक्रमणको आशंका रहेको सुनाएपछि अस्प्तालका चिकित्सकले त्यहाँ पनि उनलाई एम्बुलेन्सबाट ओर्लिन दिएनन।

एम्बुलेन्समा राखिएको ती बिरामी झन् त्रसित र हतास भए। अस्पतालको इमरेजन्सी वार्डका इन्चार्ज रामगोपाल साहले यहाँ कोरोना उपचारको लागि औषधि उपचार र उपकरणसहितको व्यवस्था नभएकाले काठमाडौंस्थित टेकु अस्पताल रेफर गरेको नेपालखबरसंग बताए।

तर अहिले ती बिरामी कहाँ, कुन अवस्थामा छन्? उनको चेकजाँच रिपोर्ट कस्तो छ? कुनै अत्तोपत्तो छैन।

प्रादेशिक अस्पताल जनकपुरले ती बिरामीको नाम, ठेगाना र तीनका आफन्तका नाम, नम्बर समेत राखेनन। ती बिरामीको अवस्था र कहाँ उपचारमा छन् भन्ने प्रदेशका कुनै निकायलाई थाहा छैन।

बुधबार साँझ ७ बजे कोरोनाको संक्रमित भन्दै एम्बुलेन्समा राखेर अर्का एक बिरामीलाई जनकपुरको ब्रहम्पुरी स्थित जानकी मेडिकल शिक्षण अस्पतालको सीटी हस्पिटल ल्याइयो।

अस्पताललाई ती व्यक्ति कोरोनाबाट सिकिस्त भएको बताइयो। प्रदेश सरकारले कोरोना संक्रमित बिरामीलाई मात्र उपचार गर्ने भन्दै सिटी अस्पताल तयार गरी राख्ने निर्णय गरेपछि उनलाई त्यहाँ ल्याइएको थियो।

Janaki Medical

कोेरोना संक्रमित भनिएका ती बिरामीलाई काठमाडौंबाट ल्याइएको एम्बुलेन्स चालकले जनाएको हस्पिटलका इमरजेन्सी कक्षका एक चिकित्सकले नेपालखबरसंग बताए।

‘राति साढे ८ बजेसम्म एम्बुलेन्स हस्पिटलकै हाताभित्र थियो। एम्बुलेन्स चालकले भन्दै थिए बिरामी कोरोना संक्रमित र सिकिस्त छन। काठमाडौंबाट ल्याएका छौं’ इमरजेन्सी वार्डका ती चिकित्सकले भने।

प्रदेश सरकारले सिटी हस्पिटलमा कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेशन वार्ड व्यवस्थापन गरेको भनेर भ्रम मात्र फैलाएको उनले बताए।

‘यहाँ कुनै व्यवस्थापन गरेको छैन। औषधि उपचारको कुनै सुविधा छैन। त्यसैले ती बिरामीलाई हामी बाहिर पठाइदियौं,’ उनले थपे। पछि ती बिरामीलाई यहाँ राख्न नसकिने भन्दै अस्पतालले पठाइदिए। तर उनी कहाँबाट आएको को व्यक्ति र कस्तो अवस्थामा रहेको कुनै जानकारी नरहेको ती चिकित्सकले बताए।

प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले कोरोना संक्रमित तथा शंकास्पद बिरामीलाई सिटी हस्पिटलमा २० बेडको आइसोलेशन वार्ड तयार गरिएको र उपचारको लगि व्यवस्थापन पनि त्यहि गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको दावी गरे।

तर एम्बुलेन्सबाट बिरामीलाई नत जानकी मेडिकल शिक्षण अस्पताल रमदैयामा भर्ना लिइएको छ नत त्यसको शाखा हस्पिटलको रुपमा रहेको जनकपुर स्थित सिटी हस्पिटलमा। त्यहाँ कोरोनाको आशंकामा आएका बिरामीलाई एम्बुलेन्सबाट ओर्लनसमेत नदिइएको पीडितहरुको गुनासो छ।

प्रादेशिक अस्पताल जनकपुरमा पनि कोरोनाको शंकास्पद बिरामीलाई राख्ने र उपचारको कुनै व्यवस्थापन नभएको अस्पताल प्रमुख डा. नागेन्द्र यादवले बताए।

Emergency Province2

उनका अनुसार प्रादेशिक अस्प्ताल जनकपुरमा पाँचवटा आइसोलेशन वार्डको व्यवस्था गरिएको छ। कोरोना संक्रमित तथा शंकास्पद बिरामीलाई उपचार गर्न सरकारले पाँचवटा पीपीई ड्रेस र दुईवटा थर्मल गन उपलब्ध गराएको उनले बताए।

तर केही शंकास्पद बिरामी आएपछि चेकजाँच र उपचारको क्रममा पाँचवटै पीपीई प्रयोग भइसकेको उनको भनाइ छ।

‘त्यसलाई दोहर्याएर प्रयोग गर्न मिल्दैन। यहाँ कोरोना संक्रमित शंकास्पद बिरामीलाई चेकजाँच गर्ने किट, उपचार गर्ने उपकरण छैन। त्यस्तो बिरामीलाई यहाँ राखेर के गर्ने?’ अस्पताल प्रमुख डा. यादवले भने

प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले प्रदेश सरकार कोरोना संक्रमित बिरामीलाई उपचार गर्न व्यवस्थापन गरिरहेको दावी गरे। कोरोनाको औषधि उपकरण खरिद गर्ने प्रक्रियामा प्रदेश सरकार रहेको उनले बताए। तर कोरोनाको शंकास्पद बिरामी आएकालाइ समेत आइसोलेशन वार्ड भएको अस्पतालमा समेत ओर्लिन नदिनुले प्रदेश २ सरकारको व्यवस्थापन कति फितलो छ भन्ने प्रष्ट हुन्छ।

कोरोना संक्रमणको शंकास्पद बिरामीको कुनै तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारसंग छैन। आएका शंकास्पद बिरामीलाई उचित ठाउँमा व्यवस्थापन गरेर उपचार गर्नु अथवा कुनै ठाउँमा पठाउँदा तिनीहरुको कुनै सम्पर्क र जानकरी राखिएको छैन।

शंकास्पद बिरामीप्रति किन गम्भीरता देखाइएको छैन। बाहिर पठाएका बिरामीको सम्पर्क र जानकारी किन लिनु भएन भन्ने प्रश्नको जिज्ञासामा निर्देशनालयका बरिष्ठ अधिकृत झा भन्छन् ‘हामी तयारीमा छौं। अस्पतालहरुले हामीलाई जानकारी दिएन। हामी यसप्रति गम्भीर भएर आजै छलफल गर्छाै।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .