ad ad

समाज


पोखरामा यसरी बढ्दै छ लकडाउनको पालना

पोखरामा यसरी बढ्दै छ लकडाउनको पालना

वासुदेव पौडेल/कृष्ण दवाडी
चैत १३, २०७६ बिहिबार ४:२५,

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ।

लकडाउनको शुरुका दुई दिनका तुलनामा आज (बिहीबार) बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ।

मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काएका छन्।

लकडाउनसँगै मर्निङवाकका विकल्पमा अधिकांशले घर कम्पाउन्डभित्रै शारीरिक व्यायाम गर्ने अभ्यास बढाएसँगै बाहिर सडकमा निस्कने क्रम रोकिँदै गएको छ।

लकडाउनको दोस्रो दिन बुधबार सम्पूर्ण यातायात, बजार तथा आवतजावत पूर्णतः बन्द भएको र अवज्ञा गर्ने थोरै सवारीलाई मात्र नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले सचेत बनाउँदै घरमा फिर्ता पठाउने गरेका छन्। ‘लकडाउनको पहिलो दिन अवज्ञा गरी हिँड्ने ३७५ सवारी नियन्त्रणमा लिइएको थियो। दोस्रो दिन १६७ मात्र सवारी साधन नियन्त्रणमा लियौँ,’ रोकाले भने।

उनका अनुसार अवज्ञा गर्ने अधिकांश सवारी साधनमा मोटरसाइकल र स्कुटर छन्।

लकडाउन प्रभावकारी भइरहेको र प्रत्येक सर्वसाधारणलाई स्वास्थ्यप्रति बेलैमा सचेत बन्दै आगामी दिनमा समेत सरकारको अभियानमा सहयोग गर्न आग्रह गरेको उनले बताए।

जिल्ला प्रशासन कार्यालयबाट औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए।

‘लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत्, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरेका छौँ,’ उनले भने।

यस अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारीलगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी गर्ने सवारीलाई सञ्चालन गर्न रोक नलगाइएको प्रशासनले स्पष्ट पारेको छ।

पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासका आधारमा सूचना तथा समाचार सङ्कलनका लागि आवाजजावत गर्न पाउने गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले आम मानिसमा डर तथा त्रास सिर्जना गर्ने, आतङ्कित तुल्याउने गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यममा भ्रामक सूचना प्रसारण गरेको भेटिएमा समेत कानूनबमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ।

कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका लागि प्रदेशमा आवश्यक तयारी गरिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।

सर्वसाधारणलाई कोरोना सङ्क्रमणको आशङ्का लागेमा टेलिफोनमार्फत आफ्नो स्वास्थ्य समस्याबारे बुझ्नका लागि सञ्चालित हेलो डक्टर कक्षमा बुधबार पनि ठाउँठाउँबाट २० जनाले सोधेर परामर्श लिएको उनले बताए।

‘बुधबार १४ जनाले फोन गरेर परामर्श लिएका थिए’, उनले भने, ‘हालै विदेशबाट आएका व्यक्तिका छिमेकीले समेत व्यक्तिको लक्षणलगायतका विषयमा पनि सोधपुछ गरिरहनु भएको छ।’

आजैदेखि नेपाल टेलिकमसँगको सहकार्यमा हेलो डक्टरकक्ष टोल फ्रि नम्बरसमेत सञ्चालन गरिने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .