शुक्रबार बिहान सवा तीन बजेतिर काठमाडौँको साँखु नपुग्दै आउने सलम्बुटारमा ठूलो आवाज आयो। निदाएका आसपासका मानिसहरू त्यही आवाजले ब्युँझिए।
चाबहिलबाट मेलम्चीतर्फ जाँदै गरेको बा २ क ६५८० नम्बरको टिपर सलम्बुटारको आश्रममा खस्यो। ६१ जना बस्ने आश्रमको एउटा टहरा टिपरले किच्दा तीनजनाको ज्यान लियो।
ज्यान गुमाउनेमा २१ वर्षका आकाश, २१ वर्षकै सुमन र ४१ वर्षका हरिजन छन्। आकाश र सुमन बोल्न र सुन्न सक्दैनथे। हरिजन हिँड्न र राम्रोसँग बोल्न पनि सक्दैनथे।
उनीहरूको नाम र उमेर पनि वास्तविक होइन। नाम के हो, कहाँका हुन्, कसैलाई थाहा छैन। आश्रम सञ्चालक युवराज थापाले राखिदिएको नाम हो यो। उमेर पनि उनैले अनुमान गरेका हुन्।
युवराजको आश्रममा यस्ता ५८ जना छन्। तीमध्ये तीनजनालाई शुक्रबार टिपरले किच्यो। टिपर चालक हुन् सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ का २५ वर्षीय सागर माझी। उनलाई घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार चालक सागरले आफू निदाएकाले टिपर आश्रममा खसेको बताएका छन्। आश्रमनजिकै घुम्ती छ। घुम्तीमा मोडिनु पर्ने टिपर सिधै अगाडि बढ्दा बिजुलीको खम्बामा ठोकिएर टहरामा झरेको थियो।
टहराको त्यही कोठामा सुतेका थिए अरु ७ जना पनि। उनीहरू भने सकुशल रहेको आश्रम सञ्चालक युवराजले बताए।
आश्रममा प्रिफ्याबका ७ वटा टहरा छन्। टिपरले तीनजनाको ज्यान लिएको कोठामा १० वटा बेड छन्। १० वटा बेडमा १० जना छुट्टाछुट्टै सुतेका थिए। सडकपट्टिका तीनवटा बेडमाथि टिपर बज्रियो।
ह्विलचेयरको सहारामा युवराज पनि घटनास्थल पुगे। टिपर खसेलगत्तै भेला भएका स्थानीयले एम्बुलेन्स बोलाएर उनीहरूलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाए। तर अत्तरखेल पुर्याउँदा अस्पतालले उनीहरूको प्राण नरहेको बतायो।
सँगै सुतेका अरु ७ जनालाई अरु कोठामा सारियो।
ज्यान गुमाएका तीनै जनाको नाम युवराजले नै राखिदिएका हुन्। नवलपरासीको महिला विकास कार्यालयले २०६९ सालमा ल्याएका अन्दाजी ९/१० वर्षका बालक, जो कान सुन्न र बोल्न सक्दैनथे। युवराजले नै उनको नाम आकाश राखिदिएका थिए।
सुमनको पनि वास्तविक उमेर २१ वर्ष होइन। युवराजले अनुमान गरेको उमेर हो। उनको पनि समस्या उस्तै हो, बोल्न र सुन्न नसक्ने।
उनी २०६८ सालमा उदयपुरको जंगलमा फेला परेका व्यक्ति हुन्। त्यहाँको प्रहरीले राष्ट्रिय बालअधिकार परिसरमा पठायो। त्यहाँबाट उनलाई युवराजको आश्रममा लगियो। त्यतिबेला उनी पनि ९/१० वर्षका जस्ता थिए। उनी पनि अनाथ हुन्।
ल्याएकै दिन युवराजले नै उनको नाम सुमन जुराइदिएका हुन्।
‘नाम मैले चिन्न सजिलो होस् भनेर राखिदिएको हो,’ युवराजले सम्झिए।
४१ वर्षका हरिजन भने आश्रममा बस्न थालेको धेरै भएको थिएन। चार महिनाअघि मात्रै उनलाई आश्रममा ल्याइएको हो। साँखु प्रहरी प्रभागले उनलाई आश्रमको जिम्मा लगाएको थियो।
उनी नाम सोध्दा हरिजन बताउँथे। प्यारालाइसिस भएका उनी राम्रोसँग बोल्न सक्दैनथे। घर कहाँ हो भन्दा बताउन सक्दैनथे।

भूकम्पले घरबाट विस्थापित बनायो
युवराजले सलम्बुटारमा २ रोपनी १३ आना जग्गा भाडामा लिएर असहायका लागि आश्रम बनाएका छन्। २०७२ सालको भुइँचालोपहिले उनीहरू सलम्बुटारकै एउटा साढे २ तले घरमा थिए। भुइँचालोले घर चर्कियो। त्यतिबेला बारम्बार आएको परकम्पका कारण घर छाडेका उनीहरू त्यही खाली जग्गामा त्रिपाल टाँगेर बस्न थालेका थिए।
७ महिना त्रिपालमा बसेपछि तयार भएका थिए ७ वटा प्रिफ्याबका टहरा। त्यसपछि सबैलाई टहरामा सरियो।
स–साना टहरामा कुनै एउटै कोठा, कुनैमा दुईतीनवटा कोठा छन्। एउटा हल र भान्सा घर छ।
सडक नजिकैको लाइनमा तीनवटा टहरा छन्। पहिलो टहरामा थिए १० जना। उनीहरू सबै मस्तिष्क पक्षघात भएकाहरू हुन्। अर्को कोठामा २ जना थिए। अरुअरु समस्या भएकाहरूलाई पनि यसैगरी ती टहराहरूमा बाँडेर राखिएको छ। ती टहरासम्म टिपर नपुग्दा अरु जोगिए। त्यही कोठामा पनि तीनजनालाई किचेर टिपर खाल्डोमा अड्किएका कारण अरु क्षति हुनबाट जोगिएको सञ्चालक थापा बताउँछन्।
यो आश्रमलाई राष्ट्रिय बाल अधिकार परिषद्ले वार्षिक ६ लाख रूपैयाँ दिने गरेको थापाले बताए। यो रकमले आश्रममा रहेकाहरूलाई औषधि किन्दै ठिक्क हुन्छ। बाँकी खानबस्नका लागि सहयोग जुटाएर व्यवस्थापन गरिरहेको उनले बताए।
सरकारका विभिन्न निकायले अलपत्र अवस्थामा भेटाएकाहरूलाई पनि यहाँ पठाउँछ। अनि युवराजले नै हेरचाह गर्छन्।
उनले आश्रम खोलेको २०६२ सालमै हो। सुरुमा गौशालामा चलाउँथे। त्यहाँ २ वर्षजति बसेपछि थली सरे। थलीमा ५ वर्ष बसे।
त्यहाँबाट सलम्बुटारको साढे २ तले घरमा पुगे। भुइँचालोले त्यहाँबाट विस्थापित गरेपछि टहरामा बस्न थालेका थिए। त्यही टहरामा टिपरले लियो तीनजनाको ज्यान।
आश्रमका तीनजनाको ज्यान गएपछि सञ्चालक थापा विक्षिप्त छन्। दिउँसो पिपुल्स लाइफ केयर अस्पतालमा उपचार गराएर साँझ मात्रै आश्रम फर्किए।
यता टिपर चालक माझीलाई कारबाही प्रक्रिया अगाडि बढाउन अदालतबाट अनुमति लिइसकेको एसपी बोहराले नेपालखबरलाई बताए।
Shares

प्रतिक्रिया